मकवानपुर, १९ असोज ।
मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौंडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा बागमती गाउँपालिकाको शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेता भएसँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएकाे शहीद स्मृतिले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । शहीद स्मृति जिल्ला लिगमा पहिलो पटक सहभागी भएको हो भने पदमपाेखरी पहिलाेपटक लिग विजेता भएकाे हाे ।
पदमपोखरीको जितमा दिवस गोलेले पहिलो हाफको २४ औं मिनेटमा, विजेश तितुङ्ले दोस्रो हाफको २१औं मिनेटमा र अमीत स्याङ्तानले इन्जुरी समयमा १ गोल गर्दै पदमपोखरीको जित सुनिश्चित गरेका थिए । एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शहीद स्मृतिका उप्रान्त आले मगरले पहिलो हाफकाे ३९औं मिनेटमा १ मात्र गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पदमपोखरीका रोजक थिङ, फर्वार्ड शहीद स्मृतिका उप्रान्त आले मगर, पदमपोखरीका प्रशिक्षक ज्ञानु मुक्तान, मिडफिल्डर नवराज थिङ, गोलरक्षक रोजक थिङ र उत्कृष्ट डिफेन्डर अरूण आले मगर घोषित भए । उनीहरुले ट्रफि प्राप्त गरेका छन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिता जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भएकाे थियाे ।