भरतपुर, १९ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कालो झण्डा देखाउने क्रममा ४ जना पकाउ परेका छन् । `चितवनबासीसँग भेटघाट कार्यक्रम´ अन्तर्गत सभापति लामिछाने नारायणी कला मन्दिरमा आउने क्रममा उनलाई कालो झण्डा देखाइएको थियो । सहकारी ठगीमा लामिछाने पनि संलग्न रहेको भन्दै कालो झण्डा देखाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अनमोल अधिकारी, हरि आचार्य, ज्ञानप्रसाद पराजुली र अब्दुल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका मध्य अधिकारी कांग्रेस चितवनका प्रवक्ता हुन भने आचार्य एमाले निकट अखिलका जिल्ला अध्यक्ष हुन् । सहकारी पीडितलाई सहयोग गर्ने क्रममा उनीहरु पक्राउ परेको कांग्रेस र एमालेका नेताहरूले पुष्टि गरेका छन् । लामिछानेले सहकारी ठगी गरेको भन्दै पीडितहरुले आन्दोलन गर्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नारायणगढमा भएको कार्यक्रममा साहारा सहकारी पीडितहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । नारायणी कला मन्दिरको गेट बाहिर ब्यानरसहित पुगेका उनीहरूलाई प्रहरीले कुटपिट गरेको र लामिछानेका कार्यकर्ताले समेत ढुंगा हानेको साहारा पीडित संघर्ष समितिका संयाेजक शालिकराम दुवाडीले बताए । दुवाडी पनि लामिछानेको दलका भरतपुर- १० का वडा सचिव थिए । उनले गत साता मात्रै सहकारीको रकम हिनामिना गर्ने लामिछानेको दलमा नबस्ने भन्दै राजीनामा दिएका थिए ।