मकवानपुर, १९ असोज ।
बागमती प्रदेश सरकारले बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहायता प्रदान गर्ने भएको छ ।
शनिबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेकाे हाे ।
असोज १० गतेदेखि १२ गतेसम्म परेकाे वर्षाका कारण बाढीपहिरोबाट धेरै क्षति पुगेको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका काभ्रेपलाञ्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिकालाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा गरिने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यसैगरी मकवानपुरको बागमती गाउँपालिका, काठमाडौंको चन्द्रागिरी र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकामा १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको मन्त्री लामिछानेले बताए ।
यस्तै दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा १० लाखका दरले रकम निकासा हुने भएको छ ।
यस्तै, मकवानपुरको बकैया गाउँपालिका, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई १०–१० लाख गरी २ करोड ६० लाख रुपैयाँ निकासा दिने निर्णय भएको कानूनमन्त्री लामिछानेले जानकारी दिए ।