गैंडाकोट, १८ असोज ।
आदर्श नारी विकास केन्द्रले बाढी प्रभावित विद्यालयका विद्यार्थीहरुका लागि नि:शुल्क पोशाक वितरण गरेको छ । हालै आएको बाढीको डुवानमा परेका भरतपुर महानगरपालिका वडा नम्बर १६ का ४ विद्यालयका २६६ विद्यार्थीहरुका लागि विद्यालयको पोशाक वितरण गरिएको हो । संस्थाले आफ्नै सदस्यहरुसँग संकलन गरेको रकमबाट कार्यक्रम गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन वडा नम्बर १६ का अध्यक्ष अमृत हमालले एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत कार्य भइरहेको जानकारी गराए ।
प्रभावित क्षेत्रमा आई विद्यालयमा परेको विपतमा साथ र सहयोग प्रदान गर्ने आदर्श नारी विकास केन्द्रप्रति वडा अध्यक्ष हमालले धन्यवाद व्यक्त गरे । `राहत वितरणमा अनियमितता नहोस् भन्ने हाम्रो चाहना हो´ उनले भने, `आदर्शले वडासँग समन्वय गरेर जुन कार्य गरेको छ यो प्रशंसायोग्य छ ।´
खाद्यान्न दिने संघसंस्थाहरु प्रभावित क्षेत्रमा पुगे पनि विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गर्न आदर्श नारी पहिलोपटक पुगेको श्री दुर्गा शेषकान्त माध्यमिक विद्यालयका प्राधानाध्यापक माधव पौडेलले बताए ।
डुवानका कारण प्रभावित विद्यार्थीहरुमा विद्यालय पोशाकको समस्या परेको थाहा पाएपछि संस्थाले वडाध्यक्ष हमालसँग समन्वय गरि वडाको अनुमतिबाट नै प्रभावित विद्यालयमा पोशाक वितरण गरेको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताइन् ।
संस्थाका संस्थापक सचिव एवं महिलाअधिकारकर्मी मीना खरेलले कुनै दातृ निकाय या अन्य व्यक्तिको नभई आदर्श अभियानकै सदस्यहरुको सहयोगबाट संकलित रकमलाई प्रभावित क्षेत्रमा सदुपयोग गरिएको स्पष्ट पारे ।
महिला तथा बालबालिकाहरु विना भेदभाव सम्मानित एवं शोषणमुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरि उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्यका साथ २०४९ सालमा स्थापित यस संस्थाले प्राकृतिक विपत्तिमा परेकाहरुका लागि निरन्तर रुपमा सहयोग गर्दै आएको छ । यस संस्थाले जोखिम अवस्थामा रहेका घरेलु तथा लैगिंक हिंसा, सशस्त्र द्वन्द्व र बेचविखनमा परेका महिलाहरुको उद्धार, संरक्षण, विकास र सम्मानका लागि सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम संचालनमार्फत उनीहरुलाई आर्थिक सशक्तीकरणका लागि काम गर्दै आएको छ ।