कावासोती, १७ असोज ।
विभिन्न स्टेज कार्यक्रममार्फत् होस्ट तथा पर्फर्मरको छवि बनाएका सञ्जय देवकोटा ‘कुरा बुझ्देउ न’ गीतबाट गायकको रुपमा नेपाली सांगीतिक बजारमा आएका छन् । गायक देवकोटाले बिहिबार कावासोतीस्थित कावासोती सिनेम्याक्समा गीतको प्रिमियर गरे । कुरा बुझ्देउ नको प्रिमियर शोमा गायक देवकोटाका पिता पशुपति देवकोटा तथा मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीकोलगायतको उपस्थिति रहेको थियो ।
गीत प्रिमियरपछि मन्तव्य राख्दै गायक देवकोटाले नवलपुरबासीको साथ र सहयोगले आफूले गीत बजारमा ल्याउन सकेको बताए । उनले गीतको निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेका सेन्ट्रल कलेजका प्रमुख यज्ञबिलास (वाइबी) पौडेललाई विशेष स्मरण गर्दै अर्का नवलपुरे ठिटो दीप काफ्ले र समीक्षा अधिकारीको स्वरमा दशैंलगतै अर्को म्युजिक भिडियोसमेत बजारमा आउने खुलासा गरे ।
दीप काफ्ले पनि पछिल्लो समय स्टेज कार्यक्रम सञ्चालन, भजन गायन र मोडलिङमा जम्दै आफ्नो यात्रा अगाडि बढाईरहेका छन् । गीत प्रिमियर कार्यक्रमको सहजीकरण सेन्ट्रल कलेजका बिजनेश प्रोमोटर अर्जुन कँडेलले गरेका थिए ।
गीतमा गायक देवकोटालाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छिन् । कुरा बुझ्देउ न गीतलाई श्रीधर अधिकारीले शब्द र संगीत भरेका छन् । गीतलाई सञ्जय विश्वकर्माले निर्देशन गरेका छन् । स्वयम् गायक सञ्जय देवकोटा, मोडल प्रिन्सिका श्रेष्ठसहित गायक तथा मोडल दुर्गेश थापा र सञ्चिता बोलखे लुइँटेलको अभिनय रहेको गीतको छायाँकन सुरेश काफ्ले र आरडि दुलालले गरेका हुन् । गीतलाई डिटिएम मिडियाको युट्युब च्यानलमार्फत् बजारमा ल्याईएको छ ।
गीतको छायाँकन चितवनको नारायणी किनार, सिजि ल्यान्डमार्क र भतेरी पिकनिक पार्कलगायतका पर्यटकीय क्षेत्रमा गरिएको छ ।