देशमा प्रतिनिधिसभा निर्वाचन भएको अझै दुई वर्ष पूरा भएको छैन । निर्वाचनबाट पहिलो, दोस्रो, तेस्रो भएका वा केही सिट हासिल गरेर संसद भवन छिरेका दल र तिनका नेताहरुको विशेष जिम्मेवारी र कर्तव्य छ । नेतादेखि पार्टीसम्मका आ—आफ्नै घोषणापत्र र जनतासमक्ष गरेका मौखिक वाचाहरु छन् । निर्वाचिनपछि हरेक नेता तथा पार्टीले आफ्ना ती घोषणापत्र र वाचा पुरा गर्दै देश र जनताको हक, हित तथा अधिकार, देश विकास, समृद्दी, सुशासनका लागि गर्नुपर्ने काम बाँकी नै छ । तर, यहाँ त्यसको ठ्याक्कै उल्टो भइरहेको छ ।
अहिले पार्टीहरुको एकमात्र उद्देश्य भनेको ‘मिसन २०८४’ रहेको छ । अर्थात् पार्टीको काम भनेको एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको तयारी गर्नु हो भन्ने भाष्य निर्माण गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली एक कार्यक्रममा भन्छन्, ‘मिसन २०८४ लाई सफल पार्नु छ, एमाले एक्लैले बहुमत ल्याउँछ ।’ कांग्रेस महामन्त्री गगनकुमार थापाको भनाई छ, ‘२०८४ सालमा कांग्रेसले एकल बहुमत ल्याउँछ ।’ माओवादी अध्यक्ष प्रचण्ड भन्छन्, ‘विभाजित माओवादी घटकहरु एकजुट भए २०८४ मा माओवादी सबैभन्दा ठूलो पार्टी बन्छ ।’
मिसन ८४ का लागि जसले जति सक्छ, गरिरहेको छ । यी त केही उदाहरणमात्र हुन्, नेताहरुले यस्ता भाषण कति गरे भन्ने तपाईंलाई पनि थाहै छ ।
आफ्ना कार्यकर्तालाई सम्बन्धित निकायमा भर्ती गर्ने, भ्रष्ट्राचार, अनियमितता र नैतिक पतन भएका आफ्ना कार्यकर्ता, पार्टी नेता तथा कर्मचारीलाई बचाउने, व्यापारिक घरानासँग मिलेर देशमा महँगी बढाउने, अशान्ति मच्चाउने र सेन्टिमेन्ट क्याच गर्न खोज्ने, बाहिरी शक्तिको दुरुपयोगलाई बढावा दिने वा नियन्त्रण नगर्ने, उद्योग तथा कलकारखानालाई मनपरी र मनलाग्दी गर्न दिने र मिसन ८४ का लागि कालो धन जम्मा गर्ने काम भइरहेको छ । किनभने पटक—पटक देशको नेतृत्व तहमा पुगेर एकतर्फ नैतिकरुपमा पतन भइसकेका र अर्कोतर्फ जनविश्वास गुमाइसकेका नेता तथा पार्टीहरुमा अझै पनि पैसा र शक्तिको आडमा चुनाव जितिन्छ भन्ने भ्रम छ ।
यदि त्यसो हुँदैनथ्यो भने ओलीले भन्नुपर्ने थियो, ‘हाम्रो सरकारले के कस्तो काम गर्छ, मैले के गर्छु, नजिकबाट नियालेर हेर्नुस्, हामीले गरेका कामले तपाईं प्रभावित हुनुभयो भने बहुमत दिनुस्, नत्र लात हानेर खेदिदिनुस् ।’
गगनले भन्नुपर्ने थियो, ‘तपाईंहरुले निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएको प्रभाव सरकारमा हुँदा हामीले गरेको कामबाट थाहा पाउनुभयो होला । हाम्रा मन्त्री र सांसदहरुले गरेका राम्रा काम देख्नुभयो होला । हेर्नुस्, त तपाईंहरुले कांग्रेसलाई बहुमत दिएको भए अझ हामीले के—के गर्ने रहेछौँ । अबको निर्वाचनमा पुरानो गल्तीलाई सच्याउनुहोला ।’
अनि प्रचण्डले सरकारमा हुँदा पाएका अवसरहरुलाई सदुपयोग मात्र गरिदिएको भए उनले भनेजस्तो माओवादीले बहुमत ल्याउन सक्ने आधारहरु थुप्रै थिए । उनले भनिरहेका छन्, ‘सरकारमा हुँदा हामीलाई गर्न दिइएन ।’
के—के गर्न लागेका थिए र कसले के—के गर्न दिएन सो कुरा बाहिर ल्याउने आँट गर्नुप¥यो । प्रतिपक्षमा बसेर सरकारको गलत कामको भन्डाफोर गर्ने, खबरदारी गर्ने, बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने र जनतालाई सुसूचित बनाउने कि ३ वर्षपछि आउने निर्वाचनको तयारी भन्दै अहिलेदेखि उफ्रने ?
हुन त पटक—पटक सरकारको नेतृत्वमा पुगेर असफल भइसकेकाहरुबाट अब धेरै आशा गर्नु पनि मूर्खता नै हो । हरेक किसिमका भ्रष्टाचार, अनियमितता र नैतिक पतन हुने योजनाहरुमा उनीहरुको संलग्नता पटक—पटक पुष्टि भइसकेका छन् । कर्मचारीलाई कारबाही गर्दा पनि आफै परिने, पार्टी नेतालाई कारबाही गर्दा पनि आफ्नै पार्टी सकिने । फेरि, जसलाई कारबाही गर्नुपर्ने हो उही नेतृत्व र निर्णायक तहमा छ । अनि त कारबाही शब्द सुन्नासाथ नेताहरुको हातखुट्टा काँप्ने नै भयो ।
यो देश र जनताका लागि ठूलो विडम्बना हो । अब यी पुराना पार्टी र नेताहरुबाट सुशासनको आशा छैन । यसका पनि केही कारणहरु छन् । माथिका कुरालाई अझ प्रष्ट्याउनु पर्दा, उदाहरणका लागि, मानौँ मन्त्रालयको कुनै कर्मचारीले कानुन विपरीत काम गरेको छ । सो कर्मचारीको योजना अथवा कामलाई पूर्णता दिन हस्ताक्षर र सहमति कसले दिएको छ ? कसको बलमा उसले यो आँट गरेको छ ? कुरा प्रष्ट छ । कि उसलाई कुनै राजनीतिक पार्टी वा नेताको समर्थन छ कि ऊ कर्मचारीको खोलभित्र लुकेको कुनै पार्टीको झोले कार्यकर्ता हो । अब उसलाई कारबाही गर्ने हो भने उसको गैरकानुनी काममा संलग्न नेता पनि फस्ने भए, कि आफ्नो पार्टीका झोलेहरु घट्ने भए अथवा ऊ फन्दामा परेपछि आफूहरुले गरेका अन्य बदमासीका पोलहरु पनि उसले खोलिदिने भयो । अब, तपाईं आफैं भन्नुस्, यो दलदलमा फँसेका दलहरुबाट देशमा सुशासनको आशा गर्न सकिन्छ ?
यो उदाहरण केवल एक कर्मचारीको मात्र होइन । यही उदाहरणलाई हरेक क्षेत्रका माफियाहरुसँग जोडेर हेर्नुस् त । सबै गलत कामहरु कुनै न कुनै पार्टी र तिनका नेता वा माथिल्लो तहका कर्मचारीको आड, हौसला र भरोसामा भएका छन् । भन्सार छली गरेर ल्याएको सामानमा कर्मचारी वा नेताको पेटमा लाखौँ परेपछि कालोबजारी र महँगी कसले रोक्ने ? इन्भर्टर कम्पनीको मालिकसँग चुनावी खर्च लिएपछि लोडसेडिङ अन्त्य कसरी हुन्छ ? सबै कर्मचारी र नेताले गलत गरेका छन् भन्न खोजेको होइन तर, गलतकाविरुद्ध नबोल्ने वा देखे पनि नदेखेझैं गर्ने प्रवृत्ति पनि त सही होइन ।
अब जाऔँ, किन यस्तो भइरहेको छ भन्नेमा । हामी जनता नेताको चिप्ला र चिल्ला कुरामा फस्ने कोमल मनका धनी र तार्किक क्षमताका गरिब भएर पनि नेताहरुमा झन् पछि झन् हौसला बढिरहेको छ । नेतामा हामीले जे गरे पनि हुन्छ वा हामीले गरेको सबै सही छ, खबरदारी गर्ने कोही छैन भन्ने मनोवृत्ति, आसेपासेको कमाउधन्दा, गलतलाई लुकाउन गलत गर्दै जानु वा त्यसको विरोध नहुनु, पैसा र पावरको मनोकांक्षाले हालको अवस्था सिर्जना भएको देखिन्छ ।
गलत प्रवृत्ति अन्त्य नहुनुमा मूल कारण भनेकोचाहिँ जनताले हालसम्म विकल्प नपाउनु नै हो । नेताहरुमा जे गरे पनि हामी नै सर्वोपरी हौँ भन्ने घमण्ड अर्को कारण हो । तर, अब जनताले विकल्प पाइसकेका छन् । ती विकल्प, बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङ वा गोपाल हमालहरु हुन सक्छन् । सोच्नुस्, त यी सबै एकै ठाउँमा आए अथवा बालेन, हर्क र गोपालहरु मिले भने के होला ?
अहिले राष्ट्रिय राजनीतिमा सबैभन्दा ठूलो त्रासको वातावरण सिर्जना हुनुको मुख्य कारण नै यही हो । आफूहरुले जनविश्वास गुमाउँदै जानु र नयाँहरुले कमाउँदै जानु नै पुराना दलका लागि टाउको दुखाई बनेको छ । र, यो वा त्यो बहानामा कसरी हुन्छ नयाँलाई पाखा लगाउने अनेकन षड्यन्त्रहरु भइरहेका छन् । यदि पुरानाहरु नैतिक पतन भएका हुँदैनथे भने खासमा नयाँ पार्टीसँग प्रतिस्पर्धाका लागि देश र जनहितमा काम गरेर जनताको मन—मुटुमा बस्ने प्रयास गर्ने थिए । नयाँले गर्न खोजेको र चाहेको कामलाई एउटा मार्ग निर्देशको रुपमा लिएर भ्रष्टाचारी र घुसखोरहरुलाई झ्यालखानामा कोच्ने थिए । तर, विडम्बना त्यसो हुन सकेन । र, सायद पुरानाहरुबाट अब हुँदैन पनि ।
हामीले अहिलेसम्म पुराना विकल्पहरु पटक—पटक प्रयोग गरेर हे¥यौँ । जहाँबाट परिवर्तन र विकासको आशा लगभग हराइसकेको छ । अबको समय भनेको नयाँ विकल्प र नयाँ शक्तिको प्रयोगको हो । विभिन्न तह, तप्काबाट युवाहरुले खबरदारी गर्न लागिसकेका छन् । नेपालका लागि अहिले यो आवश्यक पनि छ । देशमा देखिएका र लुकेका बालेनहरु अब एकजुट हुनैपर्छ । नयाँहरुको बहुमतको सरकार बनेर उनीहरुले काम गर्न सकेनन् भने त्यतिबेला औँला उठाउँला । अहिलेदेखि नै गर्न सक्दैनन् भन्ने भन्दा पनि उनीहरुलाई एउटा अवसर दिनैपर्छ ।
पुराना पार्टीलाई यो बीचमा अन्तिम र एकमात्र अवसर छ, आफूहरु सुध्रिएर जनभावना र आकांक्षा बुझेर जनहित र राष्ट्रको पक्षमा काम गर्ने । अबको निर्वाचन पैसा र भाषणले होइन, इमानले जितिन्छ । पुराना पार्टी र नेताहरु ८४ को निर्वाचनका लागि पैसाको जोहो कसरी गर्ने भन्नेमा होइन कि इमान कसरी फर्काउने भन्नेमा लाग्नुहोस् । त्यसका लागि के—के गर्नुपर्छ हामीलाई भन्दा तपाईंहरुलाई नै थाहा छ । यही नै हुनेछ तपाईंहरुको ‘मिसन २०८४’ ।