रत्ननगर, १७ असोज ।
कवि दुर्गाप्रसाद पौडेलको ‘बतासे डाँडाका स्मृतिहरू’ कवितासंग्रहको लोकार्पण गरिएको छ ।
रत्ननगर नगरपालिकाको सभाहल बकुलहरमा अक्षर समूह चितवनको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि रामबाबु घिमिरे, कविकी आमा रत्नमाया पौडेल, सहधर्मिणी राधामाया पौडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कृति विमोचन गरेका हुन् ।
पुस्तकमाथि केशवराज आमोदीले समीक्षात्मक टिप्पणी राख्दै संग्रहका कविताहरू नामजस्तै मौलिक भएको बताए । ‘कविताहरूमा बतासेडाँडाको मौलिकता छ, गाउँघर र सेरोफेरो छ । कविताहरू साँच्चिकै कर्णप्रिय छन्’, आमोदीले भने ।
कार्यक्रममा कविका दाजु तिलकराज शर्मा, सहपाठीद्वय गोकर्ण मल्ल र धनराज गिरी, विद्यार्थी डाक्टर कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले कवि पौडेलले कवितासंग्रहमार्फत आफ्नो जन्मथलो तनहुँको बतासे डाँडालाई जीवन्त राखेको बताए । किताबको आवरणमा जन्मथलो राखिँदा कृति सुन्दर देखिएको पनि घिमिरेले बताए ।
कार्यक्रमको अध्यक्षता अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले गरेका थिए । उनले कवि पौडेललाई साहित्यका अरु बिधामा पनि सक्रिय हुन आग्रह गरे । ‘पौडेलका कवितामा कविता मात्रै छैनन्, सुन्दर कथा, सुन्दर उपन्यास र निबन्ध पनि छन् । उहाँले अन्य बिधामार्फत पनि आफ्नो लेखनलाई फराकिलो बनाउन सक्ने सम्भावना हामीले देखेका छौँ’, प्रभातले भने ।
अक्षर समूह कार्यसमिति सदस्य सूर्यप्रकाश कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । कवितासंग्रहमा गाउँघरका कुरा, सहरका कुरा, पारिवारिक सम्झनासँगै सामाजिक एवं राजनीतिक विकृतिमाथि लेखिएका कविता समावेश छन् ।
लोकार्पण गरिएको कवितासंग्रहमा ६७ वटा कविता छन् । कवि पौडेलकी नातिनी एलिजा प्रसाईंले कृति प्रकाशन गरेकी हुन् । मूल्य ३९९/- छ । पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।