मकवानपुर, १६ असोज ।
मकवानपुरकाे हेटौंडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा.सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो । उनलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।
गत १५ साउनदेखि रिक्त उक्त पदमा प्रदेश सरकारले नियुक्त गरेको हो । पाल्पाका ज्ञवाली ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका डा.ज्ञवाली महाराजगन्ज मेडिकल क्याम्पस एशोसियट प्रोफेसरका साथै क्याम्पसको अनुसन्धान शाखाको प्रमुख समेत हुन् । यसअघि उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव समेत भएर काम गरिसकेका छन् ।