मकवानपुर, १५ असोज ।
हेटौँडाबाट प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट मंगलबार अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका हो ।
पक्राउ पर्नेमा देश भारत बिहार राज्य फुलबरिया पूर्वी चम्पारन बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
सर्राफलाई विशेष सूचनाको आधारमा ४९० ग्राम ८८० मिलिग्राम सुनसहित पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए । सापकोटाका अनुसार, विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई रोकी चेकजाँच गरिएको थियो । सो क्रममा माइक्रोमा सवार सर्राफको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
सरार्फको साथबाट बरामद भएको उक्त परिणामको सुनको आजको बजार मूल्य ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरी निरीक्षक सापकोटाले बताए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।