भरतपुर, १५ असोज ।
थारु गीत ‘सजन मोर’ ले युट्युबमा १० करोड भ्युज पाएको छ । करिब तीन वर्ष अगाडि मल्टीफ्रेम स्टुडियोज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत मंगलबारसम्म १० करोड ६१ हजार पटक हेरिएको छ ।
कुमार चौधरीको शब्द तथा एके चौधरी र अन्नु चौधरीको स्वर रहेको यो गीतमा नरेश चौधरी र मधु चौधरीले मोडलिङ गरेका छन् । यो गीतको निर्देशन तथा कोरियोग्राफी सुरज देव कुसुम्यले गरेका हुन् । यो गीतको सम्पादन सोम चौधरीले गरेका हुन् । गीतको निर्माता पनि एके चौधरी हुन् ।
नेपाली गीत संगीतको क्षेत्रमा कमै मात्र म्युजिक भिडियोले युट्युबमा १० करोड भ्युज पाएका छन् । गीतको भ्युज १० करोड नाघेपछि म्युजिक भिडियोका कलाकार र निर्माण पक्षले खुसीयाली मनाउँदै छ ।
‘सजन मोर’ गीतले युट्युबमा १० करोड भ्युज पाएर इतिहास रचेको थारु गीत संगीतलाई माया गर्ने कृष्ण महतो बताउँछन् । होटल ह्याप्पी होम नारायणगढका सञ्चालक समेत रहेका महतोले यो गीतको भ्युजले नयाँ थारु गीत उत्पादनमा हौसला समेत थपेको बताए ।
थारु गीतको उत्पादन तथा प्रचारप्रसारमा उनले सहयोग समेत गर्दै आएका छन् । ‘थारु म्युजिक उद्योगमा १० करोड भ्युज एउटै गीतले पाउनु ऐतिहासिक हो । थारु गीत संगीतका धरोहरहरुलाई बधाई तथा शुभकामना भन्न चाहन्छु’, उनले भने । महतो थारु गीत प्रबर्धनका अभियन्ता हुन् ।
सुरज देव कुसुम्यको कोरियोग्राफी तथा निर्देशनमा बनेको ‘परदेशीया सजना’ गीतले पनि थारु इतिहासमा करोड क्लब प्रवेश गरेको छ । उक्त गीतको दोस्रो संस्करण परदेशीया सजना–२ असोज १७ गते एमएनएस इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै छ ।
यस गीतका लेखक श्याम चौधरी हुन् भने गायक खेम चौधरी र समिक्षा चौधरीको स्वर रहेको छ । गीतमा गणेश चौधरीले संगीत भरेका छन् । यस गीतको मोडलिङमा नरेश चौधरी र सविना चौधरीलाई देख्न सकिन्छ । यो गीतको प्रोडक्सन म्यानेजरका रुपमा कृष्ण महतोले काम गरेका छन् ।