भरतपुर, १५ असोज ।
नेकपा (एमाले) निकट युवा र विद्यार्थीहरुले नारायणीमा आएको बाढीका कारण डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् ।
एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका सय जना युवा र विद्यार्थीहरुले सरसफाइ गरेका हुन् ।
देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ गरिएको हो । उक्त आश्रममा बाढी पस्दा क्षति पुगेको छ । आश्रमका कोठाभित्र ३ फिटसम्म माटो भरिएको थियो ।
एमालेनिकट युवा र विद्यार्थीहरु सोही माटो फाल्न आश्रम पुगेका हुन् । कार्यक्रममा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्यामकुमार विष्ट, सचिव प्रकाश ढुंगानासहित युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
आश्रमका अध्यक्ष उत्तमलाल चुकेले आश्रममा रहेका बाआमाका लत्ताकपडालगायत सबै सामग्री नष्ट भएको बताए । आश्रममा रहेका ५ वटा भवनका कोठामा ३ फिटसम्म माटो भरिँदा निकै समस्या परेको उनको भनाइ छ । आश्रममा रहेका बाआमालाई अन्य आश्रममा लागि राखिएको उनले जानकारी दिए ।