देवचुली, १५ असोज ।
देवचुली नगरपालिका- ७ मा सञ्चालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार प्रगतिकला मन्दिर युवा क्लब (बी ) र फाराम खेलकुद विकास समिति विजयी भएका छन् । बडादशैँको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा प्रगतिकला मन्दिर युवा क्लब (बी )का विरुद्ध नौरङ्गी युवा क्लब लोकाहा बिच भएको पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (बी ) विजयी भएको हो ।
प्रगतिकला मन्दिर युवा क्लब (बी )ले नौरङ्गी युवा क्लबलाई ट्राइबेकरमा २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (बी )का अनिल बिरकट्टा म्यान अफ दि म्याच भएका थिए ।
सोमबार नै भएको दोस्रो खेलमा फाराम खेलकुद विकास समिति विजयी भएको छ । शिवमन्दिर टोल विकास समिति बसन्तपुरका विरुद्ध फाराम खेलकुद विकास समिति बिच भएको खेलमा फाराम खेलकुद विकास समिति विजयी भएको हो । फाराम खेलकुद विकास समितिले शिवमन्दिर टोल विकास समितिलाई ट्राइबेकरमा ६-५ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा फाराम खेलकुद विकास समितिका सौगात महतो म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा मंगलबार देवचुली युथ क्लबका विरुद्ध स्याउली फुटबल क्लब र प्रगति कला मन्दिर युवा क्लब (ए) का विरुद्ध झाक्रे युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इस्कान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।