चितवन, १४ असोज ।
नेकपा एमाले चितवनको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरुको उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले विपदमा परेकाहरुको उद्धार, राहत र क्षतिपूर्तिमा विशेष ध्यान दिन तीन वटै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले जिल्लाभित्र भएको क्षतिको पार्टी तहबाट पनि अनुगमन गर्न, तथ्यांक संकलन गर्न, राहत र उद्धारमा जुट्न आफ्ना सबै जनवर्गीय संगठन र पार्टी पंक्तिलाई निर्देशन समेत गरेको छ ।
विगतदेखि पार्टीका तर्फबाट आयोजना गरिँदै आइएको बडादशैं, शुभ दिपावली, छठ र नेपाल संवतलगायत चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रम हाललाई स्थगित गरिएको छ । देश शोकमा परेको अवस्थामा कार्यकर्ता जुटेर गरिने शुभकामना आदानप्रदान कार्यक्रमलाई समस्यामा परेका जनताको उद्धार र राहतमा परिणत गरी जनताको सेवामा खटिने निर्णय भएको पार्टी अध्यक्ष कमलराज पाठकले बताए ।
पार्टी कमिटीका सबै तह र जनवर्गीय संगठनका सबै तहका कमिटीले शुभकामना कार्यक्रम नराख्ने बैठकले निर्णय गरेको छ ।त्यसैगरी केन्द्रीय पार्टी कार्यालय निर्माण गर्नका लागि चितवनका पार्टी सदस्यहरुलाई कम्तीमा सय रुपैयाँ अनिवार्य सहयोग गर्न समेत बैठकले निर्देशन दिएको प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।
पार्टीको पालिका अधिवेशनहरु कात्तिक महिनाभित्र सम्पन्न गर्ने, असोजभित्र क्षेत्रीय कमिटीहरुको बैठक बस्ने, विभागहरुलाई पूर्णता दिने लगायतका निर्णय बैठकले गरेको छ ।
बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, प्रभा बराल, केन्द्रीय निर्वाचन आयोग सदस्य हिमकला गैरे, केन्द्रीय भूमि व्यवस्था विभाग सचिव विजय सुवेदी, बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, भरतपुर महानगर इन्चार्ज तथा निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
पार्टी सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा पार्टी उपाध्यक्ष श्यामकुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । बैठकमा उपसचिवहरु मीनबहादुर परियार र ज्वाला पुरी वनले सहजीकरण गरेका थिए ।