नारायणगढ, १४ असोज ।
गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई भरतपुर–१६ गुम्बाचौर झनझने शरणपुरमा सोमबार लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर र नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेका छन् ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरले भरतपुर–१६ गुम्बाचौर झनझने क्षेत्रका बाढी प्रभावित बासिन्दालाई प्रतिघर २ बटाका दरले झुल, फिनेल, नुहाउने र लुगाधुने साबुन वितरण गरेको हो । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मंगलपुर उपशाखाले विभिन्न उपशाखाहरुबाट प्राप्त दाल, चामल, नुन, तेललगायत खाद्यसामग्री र ब्लाङ्केट वितरण गरेको छ ।
नारायणी नदीमा आएको बाढीबाट प्रभावित १५५ घरघुरीका बासिन्दालाई भरतपुर महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोल सुधार समितिहरुको समन्वय एवं वडा नम्बर १६ का वडाध्यक्ष अमृतराज हमालको उपस्थितिमा राहत सामाग्रीहरु वितरण गरिको थियो ।
राहत वितरण कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गभर्नर दिनानाथ न्यौपाने, प्रथम भाइसगभर्नर नवराज सापकोटा, द्वितीय भाइसगभर्नर प्रभाकर पण्डितलगायत लायनहरुको उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी मंगलपुर उपशाखाका सभापति धर्मराज दवाडीलगायतका रेडक्रसकर्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र विभिन्न टोल सुधार समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।