‘सकम्बरी’ गीत बारेमा व्यक्तिगत सिर्जना प्रक्रिया सम्बन्धी सोधाईले पुस्तकको आकार पायो । तर प्रश्नकर्ता आफैँले स्वीकार गरिसकेका छन्, धेरै उत्तरहरुमा सकम्बरीको प्रसंग गायब भयो भनिसकेपछि त्यस प्रसंगतिर नजाऔँ ।
अर्चना थापा, अनुपम रोशी, उमा सुवेदी, नीलम कार्की निहारिका, प्रगति राई, प्रभा बराल, बिना थिङ, राधिका कल्पित, रेणुका जिसी र सरस्वती प्रतीक्षाका शब्दहरुका ज्वारभाटाहरु अन्तर्वार्ता शैलीमा फुटेका छन् ।
रोशीले ऐताहासिक ग्रन्थहरु वेद, महाभारत, अठार पुराण र एक सय आठ उपनिषदहरु कलात्मक चित्रसरी भनेर बताउनु भएको छ भने थापा, सुवेदी, थिङ र प्रतीक्षाको मनपर्ने पुस्तकको नाम भनिदिनुस् भन्नेमा ‘माधवी’ साझा बनेको छ । प्रकाश सपुतको गीतको प्रश्नको बारेमा राधिका कल्पितले १८६ पेजमा आफ्नो धारणा र जिसीले २१० पेजमा ‘सकम्बरी’ बारेमा आफ्नो दृष्टिकोण दिनुभएको छ ।
मनबाट नै साँचो कुरा भन्दा पुस्तकहरु पढ्दा पुरुषले भन्दा महिलाहरुले लेखेको पुस्तक नै उत्कृष्ट लागेर आउँछ । तर पनि धेरै प्रश्नहरुको घेराबन्दीले मेरो दिमागलाई खेलाइराख्छ । विचार र व्यवहारबिचको तराजुमा जोखी राख्दा पारिजातको ‘शिरीषको फूल’ देखि डेना मरियमको ‘सीतायण’ सम्म । तर आजसम्मको विश्वको इतिहासमा महिलावादी दृष्टिकोणबाट साहित्यको यात्रा यहाँसम्म आइपुग्दा मैलेचाहिँ महिला अधिकारवादी र साहित्य क्षेत्रका महिलाहरुलाई एउटै कठघरामा राखेर हेर्न सक्दिनँ । किनकि सिपाही र सन्न्यासी जस्तै हो । यसैमा बहस, वादविवाद, अक्षरहरुको योग, लैंगिक परिभाषाहरु फरक भएको पनि पाइएला ।
लिङ्ग शब्दले लैंगिक शब्दलाई अभिव्यक्त गरेको जस्तो भए पनि केही भिन्नताहरु अवश्य छन् । त्यसैले जति समान अर्थमा बुझ्ने प्रयत्न गरे पनि महिला पुरुषबिचको सम्बन्ध, भूमिका र समाजमा उनीहरुको स्थितिलाई सजिलै बुझ्न सकिँदैन । जितहारमा पनि पुरुष तर्क र स्त्रीको तर्क भिन्दै हुन्छ । किनकि तर्क गर्ने ढंग नै फरकफरक हुन्छ । केही तालमेल नै हुन सक्दैन । समानान्तर हुन्छन्, कतै गएर मिल्दैन । तर यसरी बुझ्ने हो भने प्राकृतिक लिङ्ग (प्रकृति) र सामाजिक लिङ्ग (सृष्टि) बिचमा राखेर देख्न सकेमा मात्र यसको गर्भमा पसेर हेर्न सकिन्छ । यसरी भनिएको छ, श्वताश्वरोपनिषद्को प्रथम अध्यायको नवौँ श्लोकमा :
त्रंय यदा विन्दते बह्रामतेत् ।९।।
बाह्रौँ श्लोकमा यसरी भनिएको छ :
सर्व प्रोक्तं त्रिविध बह्रामतेत् ।१२।।
जीव, ईश्वर र प्रकृति तीनैलाई (ब्रह्म) भनेर सङ्गति मिलाउन खोजिएको छ । जीवमा कुनै लिङ्ग भेद छैन भनेर ।
न त्यो स्त्री हो, न पुरुष र न त्यो नपुङ्सक नै हो । जुनजुन शरीरलाई ग्रहण गर्छ त्यससँग जोडिन्छ ।
अध्याय पाँचको बाह्रौँ श्लोकमा :
संयोगहतेुपरोगय्पि दृष्टः ।१२।।
अनि त जसरी माकुराले जालो बुनेर आफूमा लीन गराउँछ, त्यसैगरी अक्षर (अविनाशी) बाट विश्वको सृष्टि भयो, यो के कारणले सत्य हो भने जसरी सुदीप्त अग्निबाट समान रुपमा हजारौँ शिखाहरु निस्किन्छन्, त्यसैगरी अक्षरबाट अनेक प्रकार भाव (अस्तित्वहरु) सिर्जित हुन्छन् ।
‘मुण्डक उपनिषद्’ सृष्टिलाई अथ्र्याउन खोज्दै जसलाई एउटा देवले माकुराले झैँ प्रकृतिबाट उत्पन्न तन्तुहरुद्वारा स्वभावले (विश्वलाई) आच्छादित गर्दछ ।
स्वभावतो देव एक स्वभावृणीत् । स नो द धाद् बह्रात्यम्ः ।।
यिनै जगमा उभिँदै महाभारतको कुरुसभामा द्रौपदीमाथि जुन विभत्स अपमान र लाञ्छना गरियो त्यो राजसभामा गुरुजन, वीर, ज्ञानी सबै थिए । निर्वस्त्र गर्दा भीम र अर्जुनको पराक्रम र पौरुष कता हराएको थियो ? नकुल, सहदेवको शुद्धता नीतिशीलताको के अर्थ थियो ? युधिष्ठिरको धर्मपरायणचाहिँ के थियो ? यस्तो चुडान्त समयको घेरामा केवल द्रौपदीलाई कृष्णमाथि भरोसा हुनु पर्छ । चिन्ता नगर कृष्ण यदि कलियुगमा पाँच पति राख्ने चलन आएछ भने त्यस सूत्रधारको मसिहा कहलिने छौ । मैले तिम्रो निम्ति केही पनि गरेको छैन, आफ्नो कर्तव्यभन्दा बाहिर गएर तिमीले मेरा निम्ति जे गर्यौ, त्यसको ऋृण चुकाए ।
कृष्णको प्रयोजनको लागि द्रौपदी भइन् । जो लक्ष्मी अंशवार जन्मेकी थिइन् । खै त्यहाँ फेरि माधवीको चर्चा, अधिकांश महिला पात्रको आफ्नो व्यक्तिगत परिचय छैन । कुन्तीको नाम उनका पिता कुन्तिभोगबाट आयो । द्रौपदी राजा द्रुपदकी छोरी थिइन्, भाद्रि भद्र देशकी राजकुमारी, गान्धारी गान्धार नरेशकी पुत्री । यस भिडमा राजा यायातिकी छोरी माधवीको कथा भिन्न छ, उनको नाम न पिता, पति, पुत्रबाट प्रदत्त छैन । उनी महाभारतकालीन थोरै नायिकामध्ये पर्छिन् । जसले अरुको नामबाट प्रदान गर्ने परिचयभन्दा अघि गएर आफ्नो व्यक्तिगत अस्मिताको खोज गरिन् ।
संवादमा उद्दातले दिएको जवाफ र ओशोले भनेका एउटै छ । (विवाहको कारण नै वेश्याहरु पैदा हुन्छन् ।) प्रेमको अतिरिक्त यो संसारमा कुनै व्यक्तिको जीवनमा आत्मतृप्ति उपलब्ध हुँदैन । प्रेम व्यक्तिको तृप्तिको चरम विन्दु हो । जब प्रेम प्राप्त हुँदैन तब व्यक्तिले सधैँ प्रेमको पूर्ति मागिराखेको हुन्छ । विवाह र प्रेम एउटै कुरा होइन, विवाहपश्चात पनि आफूले चाहेको व्यक्तिसँग प्रेम अभिव्यक्ति गर्न पाउनु महिलाको अधिकार हो । म तिम्रो पिता विर्यको कारणले होइन, स्नेहको कारणले हुँ ।
माधवीले स्वंयवरको दिन अनौठो निर्णय गरिन् । सारा राजा, ऋषि, देवतालाई त्यागेर आत्मरक्षा खोजका लागि जंगललाई आफ्नो स्वामीवरण गरिन् । यस्तै मध्यपूर्वी युरोप, इजिप्ट, उत्तर अफ्रिकाको राजनीतिले जन्माएको क्लियोपेट्रा, रोमकी महारानी बन्ने इच्छाले जुलियस सिजर उनको सुन्दरतामा कायल भएका थिए । उनले सुन्दरताको मायाजालमा पारेर रोमको राजाको रानी हुन खोजिन् र पछि जनरल एन्थोनीसँग विवाह गरी जुलियस सिजरलाई मारिदिइन् ।
यस्तै राज्यलक्ष्मीको महत्वकांक्षालाई विश्वासमा लिएर जंगबहादुरको उदयदेखि आजसम्म यात्रा निरन्तर चलिराखेको छ । पौराणिक कालदेखि देवी, नारी, अप्सरा बनाइए । सीता, शुभद्रा, द्रौपदी, अहिल्या, क्लियोपेट्रा, राज्यलक्ष्मी ठुलाठुला ज्वाला बने । धर्मयुद्धको नाममा मानवता समाप्त भयो । कहीँ सभ्यता ध्वत भयो, कहीँ शासन व्यवस्था समाप्त भयो र समयको घेरामा प्रश्न फेरियो । युग फेरियो, जन्मिने अनुहार फेरिए । विचारधारा फेरिए । नारी आवाज फेरिए तर पनि घर, चुलोदेखि गाउँ, टोल, समाज र देशमा सीता, द्रौपदी, माधवी, अहिल्या, शुभद्रा, क्लियोपेट्रा, राज्यलक्ष्मी जन्म पुनर्जन्म भई नै राखेको छ । अनि मनभित्रको आतङ्क यथावत छ ।
पीडा, रोदन, वेदना, चित्कार जहाँको त्यहीँ छ । र त इतिहासदेखि वर्तमानसम्म नारीको आँसु र वेदनाको बोझहरुले थिचिएको यो समाजले जोखिराखेको स्त्रीले नै पुरुषको नामको पछाडि थपिदिएको पतिदेवले आफूभित्र नै आतङ्क सिर्जना गरेको महसुस हुन्छ । रतिबजारतिर खोज्दै अनि सुविधाका रहरहरुतिर लम्किँदै जोसँग जे उपलब्ध छ त्यही बजारमा बिक्री भैराख्छ । वेद, उपनिषद्, पुराण, भागवद्गीतापछि पनि कैयौं महात्मा आए । साहित्यको उत्तर आधुनिकवादको नाममा धर्तीमा नैतिकताको पाठ लिँदै अनि मन्दिर, चर्च, मस्जिद, गुम्बा, स्कुलमा सबै भेला भैराखे । हरेक बिहान घन्टी बजिराख्यो, आरती उतारिराखियो । फूलहरु चढाइराखियो । भजनबाट आफ्नो सभ्यतालाई धेरै राम्रो कलापूर्ण बनाउँदै गए । आखिर के रै छ त ? सञ्जीव उप्रेतीको ‘घनचक्कर’ नाटक जस्तै जीवन भैराख्यो ।
प्रश्नमा उठेका सवालहरुको तत्कालीन रुपमा उत्तर पनि भए, प्रत्येक परीक्षामा प्रथम भएर पुरस्कार र सम्मानपत्र पनि मिल्दै गए, नैतिकताको समवेदना जुन रगतमा मिसिनु पर्ने थियो, प्रत्येक अंग–प्रत्यंगबाट आत्मासम्म लिपिनु पर्ने थियो । त्यस्तो हुन सकेको पाइँदैन । बुद्धिमान भयो, ज्ञाता भयो, हार्दिकता र कारुणिक भएन, अध्यात्म पढ्यो, आध्यात्मिक भएन, आस्था पढ्यो, आस्तिक भएन । हरेक चिजलाई पदार्थको रुपमा बुझ्यो, अनि त्यही पदार्थ अणुबाट परमाणु, ईलेक्ट्रोन र प्रोटोन हुँदै न्युट्रोनमा बाँडिदै ग¥यो अनि वस्तु र तत्वको रुपमा योग संयोजन बनेर सबै भाव बिलाएर कसरी शक्ति आर्जन गर्ने भन्ने मात्र ध्यानको त्यही प्रकाशमा विस्तारै विलीन हुँदै गयो ।
जब स्त्री (सृष्टि), पुरुष (प्रकृति) परिपूर्ण प्रेम र आनन्दले मिल्छन् तब त्यहाँ मिलन आध्यामिक कृत्य (स्परिचुअल एक्ट) हुन्छ अनि त्यसको काम सेक्ससँग सम्बन्धित हुँदैन । त्यो मिलन कामुक हैन, शारीरिक हैन, त्यो मिलन नै अनौठो हुन्छ । महत्वपूर्ण हुन्छ, जस्तो योगीको लागि समाधि ।
धन्यवाद प्रश्नकर्ता उदय अधिकारीलाई जसले समयको घेरामा प्रश्नमार्फत उत्तर उतारिदिनु भएकोमा । सायद डिजिटल अन्तर्वार्ता भएको भए एक कानले सुनेर अर्को कानबाट निस्किएर जाने थियो । तर यसरी चर्चित महिला लेखकहरुको यो धारणा साहित्यक पाठशालामा पुँजीको रुपमा राखिदिनु भयो । जो नेपालका सिर्जनात्मक रुपका आभूषणहरु हुनुहुन्छ ।