दुर्गा सर, आकस्मिक भेट पनि रमाइलै हुँदो रहेछ हगि ?
म नेवारको छोरो, साहित्यमा लागेका कारण मलाई भेटेर ‘रमेश, तैँले गल्ती गरिस्’ भन्ने थुप्रै आफन्तहरू थिए मेरा । तर मलाई भने त्यस्तो कहिल्यै लागेन । व्यापार गर्न जानिएन, धन कमाउन सकिएन त के भयो ? साथीहरू कमाइएकै छ । हो, साहित्यमा लागेकाहरूको प्रत्यक्ष भेटघाट नभए पनि चिनजान शब्दकै माध्यमबाट भइसकेको हुँदो रहेछ । कवि दुर्गाप्रसाद पौडेललाई मैले चिनेको थिइनँ । उनी अर्थशास्त्रका प्राध्यापक मचाहिँ नेपाली विषयको, म भरतपुर पढाउने उनीचाहिँ टाँडी । भेटघाट चिनजानको अवसर जुटेको रहेनछ ।
रत्ननगर बहुमुखी क्याम्पसमा प्राध्यापनरत रहँदा उनको साहित्य कहाँ लुकेर बसेको रहेछ ? कृति छपाउन उनले निवृत्तै हुनुपर्ने ? यो कुराचाहिँ मलाई अचम्म लागिरहेको छ अझै । उनले पहिलो कविताकृति छपाएपछि लोकार्पण गर्नका लागि अक्षर समूह नै रोजेछन् । असोजको दोस्रो साताको सुरूमै मित्र लेखराम सापकोटामार्फत् उनीसँग सम्पूर्ण किताब नारायणगढमा भेट भयो, उनको साथमा थिए गोकर्ण मल्ल पनि । भेटपछि कार्यक्रमका बारेमा स्थान तय गर्न लागियो नारायणी रिसोर्टतिर । यसरी भएको आकस्मिक भेट पनि कति यागदगार भएछ म शब्दमा ठ्याक्कै वर्णन गर्न सक्दिनँ । साँच्चै, आकस्मिक भेट पनि रमाइलै हुँदो रहेछ हगि दुर्गा सर ?
तनहुँ मै जन्मेको हुँ म पनि !
हालसालै झरी पर्नुअघि नारायणी रिसोर्ट, गैँडाकोटमा बसेर चिया पिउने क्रममा पहाडघरको बारेमा कुरा चल्यो । मेरो मनमा सधैँ एउटा कुरा चल्छ, पहाडमा नजन्मेकाहरूले चाहिँ पहाडघर कता बताउँदा हुन् ? मचाहिँ तनहुँमा जन्मेको हुँदा पहाडघर तनहुँ बताएँ दुर्गा सरसँग । एउटै टेबुल वरपर म, गोकर्ण मल्ल र दुर्गाप्रसाद पौडेल थियौँ । गोकर्ण मल्ल तनहुँमा जन्मेको कुरा पहिल्यै थाहा थियो मलाई । कुरा गर्दै जाँदा थाहा भयो, दुर्गा सर पनि तनहुँ मै जन्मेका रहेछन् ।
दुरी नजिक भएका कारण पनि चितवन र नवलपरासीका विभिन्न ठाउँमा तनहुँमा जन्मेका थुप्रै मानिसहरू बस्छन् । नारायणगढको पुतली बजार त पहिला बन्दीपुरेहरूको कब्जामै थियो । मान्छेलाई स्थान विशेषको मोह किन यति हुन्छ हँ ? सायद, भूगोलले भाषा, संस्कार र संस्कृति साथमा बोकेर आएको हुने भएकाले पनि त्यति माया लाग्ने गरेको हो कि ? हो, दुर्गा सर म पनि तनहुँमै जन्मेको त हुँ नि । तपाईंभन्दा डेढ दशकपछि जन्मिएको भए पनि मेरो जन्मस्थान तनहुँकै एउटा सुन्दर गाउँ हो, जहाँ चौर छन् र छन् चौताराहरू पनि । तर छैनन् सियाँल बस्नेहरू ।
वरपिपलको चौतारीमा बाघचाल खेलेको सम्झना छ अझै !
मेरो बाल्यकाल तनहुँमा बितेको थियो, म चितवन बसाइँ सर्दा आठ वर्षको मात्रै थिएँ । घरको जेठो छोरो म । बुबा भारततिर नोकरी गर्नु हुन्थ्यो । चितवन झर्नुअघि बाख्रा, गाई, गोरु, भैँसी चराउन जान सक्ने भइसकेको थिएँ । घरदेखि केही पर ठूलो चौर थियो, चौरमा दुई दुई वटा चौतारा थिए । गाई भैँसी चौरमा चर्थे भने हामी चौतारामा बसेर रमाइलो गथ्र्यौं । बुढापाकाहरू बाघचाल खेल्थे, हामी हेरेर रमाइलो मान्थ्यौँ । मैले उनीहरूले खेलेको हेरेरै बाघचाल खेल्न सिकेको हुँ ।
चौतारामा ढुङ्गा छापिएको थियो । ती ढुङ्गाहरूमा हँसियाले कोतरेर बाघचाल खेल्ने बुट्टा खोपिएका थिए । बहुत रमाइलो हुन्थ्यो त्यसरी बाघचाल खेल्न । अचेल त्यो चौतारा सुनसान छ । युवाहरू जति विदेश लागि हाले, बुढाहरू हिँडडुल गर्न सक्दैनन् । बेला बेलामा गाउँ जाँदा ती चौताराहरू टुलुटुलु खेहेर्छन् मलाई । हामीले खोपेका बाघचालका बुट्टामा लेउ लागेका छन् । वरपिपल पनि बुढा भइसकेका छन् । तर चौतारो साक्षी छ अझै मेरो बाल्यकालको । कविका विचारमा चाहिँ बाघचाल खेलेको सम्झना यसरी पोखिएको छ :
“सम्झना छ अझै पनि
बतासेको चौतारोमा
बाघचाल खेलेर जितेको ।” (पृष्ठ : १६०)
कस्ता छन् दुर्गा सरका ‘बतासे डाँडाका स्मृतिहरू’ ?
कवि दुर्गाप्रसाद पौडेल कुरा चपाउन जान्दैनन्, आफ्नो कविता लेखनका बारेमा ‘मनका कुराहरू पस्किने क्रममा’ शीर्षकको लेखकीय मन्तव्यमा नढाँटीकन लेख्छन् : “यो कृति आफ्नै स्थानीय डाँडापाखा र पखेराहरू, भञ्ज्याङ र चौतारीहरू, जीवनका उकाली–ओरालीहरूको परिवेश र मानव जीवनका घटनाहरूमा केन्द्रित रहेको छ ।” साँच्चै एउटा लेखकले राम्ररी उतार्न सक्ने भनेकै आफूले देखेको र भोगेको परिवेश त हो नि । यसमा वैधता पनि धेरै हुन्छ । कल्पनामा डुबेर लेख्दा त्यसको वैधता कम हुन जान्छ । यसमा कवि सचेत निकै देखिन्छन् । उनी बतासे डाँडालाई घरी घरी यसरी सम्झन्छन् :
सम्झना छ होला तिमीलाई
बतासे डाँडाको चौतारीमा
बाजी राखेर बाघचाल खेलेको । (पृष्ठ : ५४)
पहिला पहिला खेल्नका लागि सामग्री त्यति हुन्थेन, त्यसैले स्थानीय सामग्री र त्यो पनि पैसा नपर्ने चिजको प्रयोग गरी खेल्ने प्रचचन थियो । त्यसमा बाघचाल, डन्डीबियो, कपर्दीजस्ता खेलहरू बढी मात्रामा खेलिन्थे । माथिको कवितांशले चाहिँ बाघचालको कुरा गरेको छ । त्यस्तै तलको कवितांश भने डन्डीबियो खेलसँग सम्बन्धित छ :
सताउँछ यादले अझै पनि
टाकुरी लगाइ खेलेको
बिर्सिन्न कहिल्यै
डण्डीबियो खेल्दा टुटिल्को उठेको । (पृष्ठ : १५९)
बाल्यकाल सबैलाई प्रिय हुन्छ । बाल्यकालका स्मृतिहरू सबैका मानसपटलमा ताजै रहन्छन् । कविले पनि त्यही यादलाई ताजा गराएका छन् माथिको कवितांशमा । अचेल धेरैको गन्तव्य सहर हुने गरेको छ । सहरमा गाउँको जस्तो नहुने कुरा गर्दै कविले गाउँको सम्झना यसरी गरेका छन् :
गाउँजस्तो हुँदैन सहर
किनकि
गाउँले नसम्झिने प्रहर हुँदैन
सहरले तिमीलाई सम्झिने कर हुँदैन । (पृष्ठ : ५३)
सहरका आफ्नै समस्याहरू हुन्छन् । त्यसो त सहर बन्दा विभिन्न ठाउँबाट मान्छेहरू आउँछन् । विभिन्न ठाउँबाट आएका त्यस्ता मान्छेहरूका विचार र व्यवहार फरक हुन्छन् । त्यसैले सहरमा कसैलाई कसैको वास्ता हुँदैन । त्यसको विपरीत गाउँमा सबैले सबैको चासो राख्छन्, त्यसैले गाउँ प्यारो हुन्छ भन्ने विचार कविले आफ्ना कवितामा राखेका हुन् । यी विचारसँग म सोह्रै आना सहमत छु ।
कति हुन् माता, पिता र परिवारजनका सम्झनाहरू पनि ?
खासमा दुर्गाप्रसाद पौडेलको ‘बतासे डाँडाका स्मृतिहरू’ अतीतमोहले भरिएका कविताहरूको सङ्ग्रह हो । सानैमा पिता गुमाएका उनले यसमा पितालाई धेरै ठाउँमा सम्झेका छन् । ‘अहिले बा छैनन्’ शीर्षकको पहिलो कवितामा अहिले कुसेऔँसीमा बालाई भेट्न उपहार लिएर जाने गरेको सन्दर्भसँग मिल्ने गरी यसरी बाको स्मरण गरेका छन् :
पहिले उपहार दिने
कुनै कुरा थिएन
अहिले बजारभरि
उपहारैउपहार छन्
तर
बा छैनन् । (पृष्ठ : १)
त्यसो त बालाई उपहार दिन कुसेऔँसी नै कुर्नुपर्छ भन्ने छैन । तर पनि नेपाली समाज देखावटी बन्दै गएको भने पक्कै छ । उनी बाको सम्झना गर्दै ‘बाको खिइएको चप्पल’ कवितामा यस्तो लेख्छन् :
जीवनको अन्तिम क्षणमा
बिचरा बाको चप्पलले
आफ्नै घरआँगनको कुनामा
बाले टेकेको भुइँलाई
फगत स्पर्श गरिरह्यो । (पृष्ठ : १९)
अचेल बाहरू बुढा भएपछि एउटा कुनामा थन्किने गरेको यथार्थलाई माथिको कवितांशमा सुन्दर चित्रण गरिएको छ । यो आजको कटु यथार्थ हो । उनी बाका व्यथाका बारेमा ‘मुस्कुराइरहेछन् बा’ शीर्षकको कवितामा यसरी बयान गर्छन् :
कति भनूँ खै,
उराठ र पट्यारलाग्दा छन्
बाका आफ्नै कथा व्यथाहरू
बनेर आँसुका थोपा
टिल्पिलाइरहेछन् नयनमा । (पृष्ठ : २९)
हाम्रो समाजमा बाहरू पीडा र व्यथा लुकाएर बाँच्छन् भन्ने कुरालाई माथिको कवितांशमा प्रस्टसँग भनिएको छ । त्यस्तै उनी बाले छोराको सुन्दर भविष्यको चाहना कसरी गर्छन् भन्ने कुरालाई ‘बाको अशीर्वाद’ शीर्षकको कवितामा यसरी लिपिबद्ध गर्छन् :
दशैँको टीकामा
मेरा बाले
भन्नुहुन्थ्यो आशिष् दिँदै
बाबु !
तिम्रो मान र प्रतिष्ठा
अखबारमा छापियोस् । (पृष्ठ : ७८)
कविले बाका बारेमा मात्र होइन आमाका बारेमा कविता लेखेका छन् । उनले आमाले आफ्नो सन्तानको बाटो कसरी कुरेर बस्छिन् भन्ने बयान गर्दै ‘आमाको मन’ शीर्षकको कवितामा यसरी भाव व्यक्त गरेका छन् :
तिमी आउने बाटो
दियालोको साटो
बसिरहेकी छु म
अविछिन्न आँखा बालेर
पर्खी बसेकी छु
तिम्रै बाटो हेरेर । (पृष्ठ : ६)
हो, समय बलवान् छ । यो त फेरिइरहन्छ, हिजोको बालक युवक बन्छ, युवक बृद्ध । यसरी समाजमा मान्छेका भूमिकाहरू पनि बदलिइरहन्छ । कविले आफैँ बा र हजुरबा बनेपछि कुरालाई कवितामा उतारेका छन् । उनी आफ्ना छोराछोरी र नातिनातिनी सम्झना गर्दै ‘जाँदिन छोडेर कतै म’ शीर्षकको कवितामा यस्तो लेख्छन् :
छैनन् छोराछोरीहरू घरमा
अनि
छैनन् चिर्बिराउने
नातिनातिनीहरू पनि
छौँ अहिले बुढाबुढी मात्र घरमा । (पृष्ठ : १५७)
यसरी हेर्दा कवि दुर्गाप्रसाद पौडेलका अधिकांश कविताको भावभूमि आफ्नै भोगाइ हो । आफूले देखेको समाज, आफूले बाल्यकालदेखि सतसट्ठी बर्से प्रौढ हुँदासम्म गरेका विविध भोगाइहरू नै यी कविताका निर्मिति हुन् । त्यसैले यी कविताहरू बोधगम्य छन् ।
के त्यसो भए बाल्यकालीन याद मात्र लेख्छन् त दुर्गा सर ?
उमेरले छैसट्ठी वर्ष पुगिसकेका दुर्गाप्रसाद पौडेल अर्थशास्त्र विषयका सेवानिवृत्त प्राध्यापक हुन् । सानैदेखि कविताप्रति रुचि भए पनि सायद विषय नमिलेका कारण उनले प्रकाशनमान ढिलाइ गरे । उनले उमेर छिप्पिइसकेपछि ‘बतासे डाँडाका स्मृतिहरू’ नामक पहिलो कविताकृति निकालेका छन् । यसमा सससट्ठी वटा फुटकर कविताहरू छन् । ती कवितामा विविध भावहरू समाहित भएका छन् । तिनमा बाल्यकालीन याद मात्र छैन, देशप्रेम, सन्तानप्रेम, प्रेयसीसँग यादहरू, बालसखाका सम्झनाहरू पनि पोखिएका छन् । त्यति मात्र होइन, अधिकारका कुरा पनि छन् । शोषण, दमन र दलनप्रति विरोध पनि छ । भ्रष्ट नेताहरूप्रति व्यङ्ग्य पनि छ । अँध्यारो वर्तमानप्रति गुनासो मात्र होइन, उज्यालो भविष्यप्रति आशा र भरोसा पनि छ । नारी र पुरुषका दुःखका गाथा पनि छन् । भाषा सरल, सहज र बोधगम्य छ । पहिलो कृति भएका कारण बिम्ब र प्रतीकको कमी छ । यति भएर पनि कृति सुन्दर छ । आफू पुरुष भएका कारण पुरुषले भोगेका व्यथालाई कवि यसरी मुखरित गर्छन् :
लोग्नेमान्छे भएरै त होला
उसको हत्केलामा देखिन्छ ठेला
थाप्लोमा भेटिन्छ नाम्लोको डोब
न गाइन्छ कहिल्यै
लोग्नेमान्छेहरूको दुःखका गीत
न सुनाइन्छ कतै उसका कथाहरू
न छापिन्छन् अखबारका पानामा
उसले भोगेका दुःखहरू । (पृष्ठ : ५०)
दुर्गा सर लेख्नचाहिँ नछोड्नु ल !
साहित्यमा आउने उमेर कति हो ? यो प्रश्नको उत्तर जटिल छ । कवि बालकृष्ण समले आठ वर्षका उमेरमा, महाकवि लक्ष्मीप्रसाद देवकोटाले दश वर्षको उमेरमा पहिलो कविता रचना गरेका हुन् भनेर पढ्दै पढाउँदै आएको छु । तर देवकोटाको पहिलो कविता उनी पच्चीस वर्ष पुगेपछि मात्रै छापिएको भने पक्का हो । त्यसैले लेखन र प्रकाशनको निश्चित उमेर हुन्छ भन्ने लाग्दैन मलाई ।
त्यसो त सानोमा मलाई भनिएका कुरा झलझली सम्झन्छु म ‘पढेर खान गाह्रो छ ।’ साँच्चै, पढ्ने मात्र होइन दुर्गा सर, लेख्ने काम पनि सजिलो छैन । अझ राम्रो लेख्न झन् कठिन छ । त्यसो भन्दैमा लेख्नै छोड्नचाहिँ हुँदैन है । सबैले लेख्छन् भन्ने छैन । नलेख्नु लेखेर एउटा कविताको कृति छपाइसकेपछि पछि हट्ने छुट छैन दुर्गा सर । लेख्दै जाँदा सम्झन लायक कविता एउटा न एउटा त कसो नलेखिएला ? यहाँलाई लेखनकार्यमा प्रवृत्त भइरहने सल्लाह दिन्छु म । अन्त्यमा यहाँकै कविताका हरफहरू साभार गर्दै बिदा माग्छु :
पर्खिएर बसेको छु म पनि
स्वागत गर्न तिमीलाई
पुष्पगुच्छा हातमा लिएर । (पृष्ठ : १५५)