मकवानपुर, १२ असोज ।
मानव निर्मित सबैभन्दा ठूलो ताल इन्द्रसरोवर भरिने अबस्थामा पुगेको छ । बिहीबारदेखिको अबिरल वर्षाको कारण मकवानपुर जिल्लामा अबस्थित ताल भरिन लागेको हो ।
तालको जलाधार क्षेत्र रहेको दामन, पालुङ, बज्रवाराही, चित्लाङ, मार्खु र फाखेल क्षेत्रमा वर्षा भइरहेकाले पानीको तह बढिरहेको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ ।
शनिबार बिहान ४:३० बजेसम्म कुलेखानीमा जल सतह १ हजार ५२९.५४ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजना (प्रथम) भट्टले जानकारी दिए । उनका अनुसार कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिँदै आएको छ । कुलेखानी जलाशय भरिन अब ४६ सेन्टिमिटर मात्र बाँकी रहेको उनले बताए ।
१ हजार ५३० मिटर पानी भण्डारण गने क्षमता रहेको तालको सतह भरिएपछी कुलेखानी स्वत ओभरफ्लो हुन्छ । आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको पानी घटाउन विधुत उत्पादन निरन्तर गरिएको छ भने जलाधार क्षेत्रको एउटा खोला डाइभर्ट गरिएको छ ।
जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी विधुत आयोजना नीरन्तर संचालन गरिएको तथा जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उनले बताए । सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको उनको भनाई छ । सो खोला बन्द गरिएसंगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको उनले बताए ।
कुलेखानी जलाशयबाट ३ वटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
इन्द्रसरोवरको जल सतह बढेसंगै प्रशासनले स्थानीयको लागि सतर्क रहन निरन्तर सूचना प्रवाह गरेको छ ।