भरतपुर, ११ असोज ।
द्वन्द्व प्रभावित महिला जिल्ला सञ्जाल चितवनको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: पार्वती खड्कालाई अध्यक्षमा चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा लालकुमारी सिलवाल, सचिवमा सपना राना, सहसचिव यमकला चुवाई र कोषाध्यक्षमा लक्ष्मी नेपाली चयन भएका छन् । यस्तै सदस्यमा ढण्डमाया रोका, लक्ष्मी घले, जमुना सेढाई, रुकमाया अधिकारी, मीना घिसिङ र रीता बोगटीलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी एवं आदर्श नारी विकास केन्द्रका संस्थापक मीना खरेलले द्वन्द्वप्रभावित महिलाका भोगाई अभिलेखीकरण गरी उनीहरुको ससक्तीकरण र सामाजिक न्यायका लागि सहयोग गर्ने कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् । उनले महिला शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वन गर्न सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजना सबै स्थानीय निकायले कार्यान्वयन गरी द्वन्द्वप्रभाभित महिला तथा बालिकाको न्यायमा सहयोग पुर्याउन अनुरोध गरिन् ।
यस्तै नवनिर्वाचित अध्यक्ष खड्काले ससस्त्र द्वन्द्वका क्रममा पीडित तथा प्रभावित बनेका महिलाहरु एक भई द्वन्द्वको प्रभावलाई कम गर्न र महिला तथा बालिकाको हकहितका लागि संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अधिवेशनबाट सचिव सपना रानाले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी नेपालीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
ससस्त्र द्वन्द्वप्रभावित महिलाको सवालमा काम गर्ने उद्देश्यले २०७९ सालमा स्थापित यस संस्थाले जिल्लामा आदर्श नारी विकास केन्द्रसँग सहकार्य गर्दै अभियानमुलक कार्यक्रम गरिरहेको छ । संस्थाले आगामी दिनमा सबै द्वन्द्वप्रभावित महिलालाई समेट्दै अगाडि जाने अठोट लिएको छ ।