काठमाडौँ, ११ असोज ।
`हाम्रो डम्फु हाम्रै शान, यसैमा छ तामाङ पहिचान´ भन्ने मूल नाराका साथ तामाङ जातिको मौलिक बाजा तथा सांस्कृतिक चिनारीको प्रतिक डम्फु संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यका साथ आयोजना गरिएको ऐतिहासिक डम्फु साँझ-२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
डम्फु साँझ प्राईभेट लिमिटेडको आयोजनमा काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउण्ज एण्ड बारमा असोज १२ गते शनिबार साँझ हुने भनिएको ऐतिहासिक डम्फु साँझ-२०८१ को तयारी अन्तिम चरणमा पुगेको गायक तथा संगीतकार विश्व दोङले जानकारी दिए ।
उक्त कार्यक्रममा मौलिक बाजा डम्फु र टुङ्नासहितको लाईभ म्युजिक व्याण्डसँगै चर्चित गायक तथा संगीतकार विश्व दोङको एकल सांगीतिक प्रस्तुति रहनेछ । गायकद्वय दोङलाई सांगीतिक प्रस्तुतिका लागि चर्चित गायिका सुमिना लो र सुनिता गोलेको पनि साथ रहने आयोजकले बताएको छ ।
डम्फू तामाङ जातिको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग हो । तामाङ जातिको विवाह, विभिन्न समारोहलगायत अन्य कार्यक्रम र चाडपर्वहरुमा समेत डम्फु बजाउँदै गीत गाउने र नाच्ने गर्दछन् । तामाङ जातिले डम्फु बजाएर गीतमार्फत नै पुर्खाहरु सम्झेर आफ्नो इतिहास बताउने गर्दछन् । यहि डम्फुलाई नै मुख्य आधार मानेर ईतिहासमै पहिलोपटक गायक दोङले २०७५ सालमा पहिलो डम्फु साँझको आयोजना गरेका थिए । त्यसैको निरन्तरताको रुपमा यसपटक दोस्रो डम्फु साँझको आयोजना गरिएको आयोजक पक्ष बताउँछन् ।
कार्यक्रममा गायक दोङले ल्हास्सो म्युजिकल ब्यान्डको लाईभ प्रस्तुतिसँगै ऐतिहासिक गाथा बोकेका मौलिक गीतहरुका साथमा पुराना तथा नयाँ चर्चित गीतहरु प्रस्तुत गरेर भरपुर मनोरन्जन दिनेछन् ।
ल्हास्सो म्युजिकल ब्यान्ड मौलिक बाजा डम्फु र टुङ्ना सहितको समिश्रण ब्यान्ड रहेको दोङले बताए । गायक दोङको अनुसार मौलिक सेलो गीतसंगीत तथा कला संस्कृतिलाई संसार भरी फैलाउनु, तामाङ सभ्यताको विकास गरी यसको महत्त्व दर्साउनु, आफ्नो अस्तित्व र पहिचान कायम राख्न टेवा पुर्याएर संसार भरी यसको छुट्टै अस्तित्व कायम रहोस् भन्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ ।
कार्यक्रम शनिबार साँझ ५ बजेबाट औपचारिक रुपमा शुरु हुनेछ भने छोटो औपचारिक कार्यक्रम पश्चात् विभिन्न सांगीतिक प्रस्तुतिहरु पस्कने तयारी रहेको छ । कार्यक्रममा प्रवेश शुल्क एक हजार रुपैयाँ तोकिएको छ ।