भरतपुर, १० असोज ।
विभागीय डर्बीमा जित हात पार्दै नेपाल पुलिस क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब काठमाडौंलाई सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि पुलिसले गत संस्करणको उपविजेता एपिएफलाई सडन डेथमा निराश बनायो ।
पुलिसको जितमा गोलकिपर शत्रुधन चौधरी नायक बने । टाइब्रेकरमा एपिएफको दुई प्रहार रोकेका शत्रुधनले सडन डेथमा विपक्षीको प्रहार बचाउँदै आफैले गोल पनि गरे । उनी नै म्यान अफ दि म्याच भए ।
पुलिसले अब उपाधिका लागि बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । बुटवल यसअघि पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको उपाधि भिडन्त असोज १२ गते शनिबार हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।