देवचुली, ८ असोज ।
नेपाल विद्यार्थी संघ देवचुली नगर समन्वय समितिले एसइइ तथा +२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । नेविसंघ देवचुलीले साहारा पार्टी प्यालेसमा एसइइ तथा +२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान, बधाई तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।
नेपाल विद्यार्थी संघ देवचुली नगर समन्वय समितिका सभापति अनिस कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय सांसद डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी नेविसंघ पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीलगायत नेपाली कांग्रेस तथा नेविसंघका नेताहरुको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले शिक्षाबिना कुनै उपलब्धि हासिल गर्न नसकिने भएकाले सबै विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने लक्ष्य राख्नुपर्ने बताए । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिँदै उनले आफ्नो सीपमूलक शिक्षा जोड दिनुपर्ने बताए । अहिले प्राविधिक विषयहरू पढ्नेका लागि रोजगारका लागि अवसर धेरै नै हुने हुँदा आफ्नो क्षमता अनुसारको विषय अध्ययन गर्नका लागि उनले सुझाव दिए ।
नेविसंघ पूर्व अध्यक्ष गुरुराज घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति महेन्द्रध्वज जि.सी, नेपाली कांग्रेस देवचुलीका सभापति डिल्लीराम कडरिया, नेविसंघ नवलपुर सभापति हरि सुवेदीलगायतले सम्मानित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
नेविसंघ देवचुलीले पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा एसईई २०८० र +२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । कार्यक्रममा त्यसैगरी नगरको उत्कृष्ट वरचुली माध्यमिक विद्यालयको इकाइ समितिलाई सम्मान गरिएको थियो । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला, नेपाली काँग्रेस जिल्ला सभापति महेन्द्रध्वज जि.सीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
देवचुली कलेजका स्ववियु सचिव सञ्जना सोडारीको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यार्थीहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।