कावासोती, ८ असोज ।
कावासोतीमा हुन लागेको दसदिने मेलाको सञ्चालनको लागि कावासोती नगरपालिकाले दिएको अनुमतिको बिषयमा नवलपुर उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
कावासोती नगरपालिका र नवलपुर उद्योग वाणिज्य संघ बिच पटक पटक छलफल भएको र भदौ २६ गते प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि बेवास्ता गर्दै आयोजक संस्थाको विधानको उद्देश्य विपरीत पालिकाभित्र मेला/महोत्सव सञ्चालन गर्न अनुमति दिएकोमा नवलपुर उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस अघि पनि नगरपालिकाले उद्योग वाणिज्य संघ बाहेक अरूलाई मेला÷महोत्सव सञ्चालन गर्न रोक लगाएको विज्ञप्तिमा भनिएको छ । मेला सञ्चालन गरिहाले पनि व्यवसायिक स्टल र बाल उद्यान बाहेकलाई दिन सकिने जनाएको छ । पर्यटन तथा उद्योग कार्यलय (घरेलु) तथा कम्पनी रजिष्टार कार्यलयमा दर्ता भएका व्यवसायिक फर्महरूले मेला, महोत्सव सञ्चालन गर्न नपाइने व्यवस्था रहेको जानकारी गराएको छ ।
त्यसैगरी व्यावसायिक प्रवर्धनका लागि मोबाइल मेला, सडक खाना महोत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद महोत्सव जस्ता आयोजना गर्न बस्तुगत संघलाई आग्रह पनि गरेको छ ।
नवलपुर उद्योग बाणिज्य संघ र कावासोती नगरपालिकाबिच यस अघि भएका लिखित/अलिखित सहमति कार्यान्वयन गर्न पालिकालाई अनुरोध गरिएको छ भने नवलपुर उद्योग वाणिज्य संघसंग समन्वय नगरी गरिएका मेला महोत्सवमा आफ्नो साथ, सहयोग नरहने पनि विज्ञप्ति मार्फत जनाएको छ ।