भरतपुर, ८ असोज ।
भरतपुर महानगरपालिका–१० एयरपोर्ट अगाडि राम मिष्ठान्न भण्डारको शाखा सञ्चालनमा आएको छ । नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले उक्त मिष्ठान्न भण्डारको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै चुकेले व्यवसायीका हकहित र अधिकारको सुनिश्चिततामा राज्यले जोड दिनुपर्ने बताए ।
वि.सं. २०४१ सालदेखि व्यवसाय संचालन गर्दै आइरहेका राम मिष्ठान्न भण्डारका सञ्चालक रामप्रसाद सुवेदीका अहिले दुईवटा मिष्ठान्न भण्डार र गैंडाकोटमा श्रीराम पार्टी प्यालेस गरी तीनवटा व्यवसाय सञ्चालनमा छन् । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले थोरै पुँजीबाट व्यवसाय सञ्चालन गरेका उनले अहिले करोडौंको व्यापार गर्दै आइरहेका छन् ।
सुवेदीले आफ्नो व्यवसायमा ४० जनालाई रोजगारी दिँदै आएका छन् । आर्थिक मन्दीको समयमा पनि स्वदेशमा नै व्यवसाय गरेर ४० जनालाई रोजगारी दिन पाउँदा खुशी लागेको सुवेदी बताउँछन् ।