देवचुली, ८ असोज ।
कावासोती–१२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहर जितेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा सोमबार अभिषेक चर्च रजहरका विरुद्ध जगतपुर फुटबल क्लबबिच भएको फाइनल खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।
अभिषेक चर्च रजहरले जगतपुर युवा क्लबलाई ५–० गोलले हराउँदै उपाधि रक्षा गरेको हो । सोमबारको फाइलन खेलमा अभिषेक चर्च रजहरका म्यान अफ दि म्याच भएका थिए ।
नवलपुर र चितवनबाट ६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने अभिषेक चर्च रजहरले नगद ५५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने जगतपुर फुटबल क्लबले नगद ३५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि सेमिफाइनलमा पुग्ने राप्ती नगरपालिका र चितवन रोड्सले १०/१० हजार रुपैयाँ पाएका छन् ।
डायमण्ड युथ सोसाइटीका खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिताको समापनमा कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्य रहेको थियो भने कावासोती नगरपालिकाका वडा अध्यक्षहरु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, सेन्ट्रल कलेज भरतपुरका प्रिन्सिपल यज्ञविलास पौडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका विजेता र उपविजेतालाई कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेत लगायतबाट पुरस्कार वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै उपप्रमुख थनेतले खेलका माध्यमबाट किशोरीहरुले आफ्नो क्षमता प्रस्तुत गरेको बताइन् । नेपालमा महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेको उनले बताइन् । जितियाको अवसरमा उनले सबैलाई शुभकामना व्यक्त गरिन् ।