गैंडाकोट, ८ असोज ।
गैंडाकोटमै पहिलोपटक रैथाने खाद्यवस्तुलगायतको प्रवर्धनका लागि गैंडाकोट–४ मा मिनी मार्ट तथा हाटबजार सञ्चालनमा आएको छ ।
मंगलबार र शुक्रबार लाग्ने मिनी मार्ट तथा हाटबजारको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख मदनभक्त अधिकारीले निजी क्षेत्रले रैथाने खाद्यवस्तु तथा विविध सामग्रीको उत्पादन तथा प्रवर्धनका लागि निजी जग्गा र भवन निःशुल्क रुपमा उपलब्ध गराएर किसानका सामग्री खरिदबिक्री गर्नका लागि सञ्चालन गरेकोमा खुसी लागेको बताए । उनले भने, ‘रैथाने वस्तुका उत्पादनलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्न निजी क्षेत्रसँग समन्वय गर्न स्थानीय सरकार पनि तयार छ ।’
‘मंगलबारबाट सञ्चालनमा आएको मिनी मार्ट तथा हाटबजार राख्न गैंडाकोट एग्रो मार्ट प्रालिकै स्थान उपलब्ध गराउन व्यापारीहरूले आग्रह गरेपछि पछिल्लो समयको आर्थिक मन्दीमा केही सहज होस् भनी हामीले पाँच वर्षअघि ३ करोड लगानी गर्दै सञ्चालनमा ल्याएको मार्ट परिसर निःशुल्क उपलब्ध गराएका हौँ’ मार्ट सञ्चालन समितिका अध्यक्ष शालिग्राम सापकोटाले बताए ।
मिनी मार्ट तथा हाटबजारमा नवलपुर जिल्लाकै पहाडी भेगका महिला उद्यमी तथा कृषकले उत्पादन गरेका हाँस तथा लोकल कुखुराका अण्डासँगै पिँडालु, भ्यान्टा, साग, फर्सी, उखु, लौका, खुर्सानीलगायतका अर्गानिक तरकारीहरू, मकैलगायतका खाद्यान्न बिक्रीका लागि राखिएको छ । त्यस्तै, स्थानीय महिला उद्यमीले उत्पादन गरेका बेसार, चुक, अचारलगायतका वस्तु समेत बिक्रीका लागि राखिएको छ ।
मिनी मार्ट तथा हाट बजार उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तेजेन्द्रप्रसाद घिमिरेलगायत टोलनाथ घिमिरे, कृष्णराज न्यौपाने, श्रीराम सुवेदी, केशवप्रसाद सापकोटा, रामबहादुर खत्री, लालकुमार राई, सूर्यकुमार कायस्थ, शान्ता भुजेल, सूर्यप्रसाद पराजुलीलगायतका अतिथिले हाटबजारले स्थानीयस्तरमा रहेका रैथाने खाना तथा परिकार र कपडालाई संरक्षण एवं प्रवर्धन गर्दै रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै रोजगार सिर्जना गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए ।