भरतपुर, ८ असोज ।
उदय अधिकारीको नयाँ पुस्तक `प्रश्नको घेरामा समय´ सार्वजनिक भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले मङ्गलबार एक अनौपचारिक कार्यक्रमबीच कृति विमोचन गरेकी हुन् ।
अन्तर्वार्ताकार उदय अधिकारीका ५ कृतिमध्ये पछिल्लो यस पुस्तकमा प्रसिद्ध १० जना महिला साहित्यकारसँगका अन्तर्वार्ता छन् । नेपाली साहित्य फाँटका चर्चित नारी साहित्यकारहरू समेटिएको कृति विमोचन गर्न पाउँदा आफूलाई खुसी लागेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । `यो कामको लागि म योग्य थिएँ कि थिइनँ, तर मेरो हातबाट कृति विमोचन गर्न पाउँदा म पनि खुसी भएकी छु । कृति पढेर प्रतिक्रिया दिनेछु । भरतपुर महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्नेछु´, प्रमुख दाहालले भनिन् ।
कार्यक्रममा अन्तर्वार्ताकार एवम् पुस्तकका प्रस्तुतकर्ता उदय अधिकारीले प्रसिद्ध नारी स्रस्टाहरू समेटिएको कृति भएकोले प्रसिद्ध महिलाबाटै यसको विमोचन गराउने योजना बनेको बताए । `नेपाली साहित्यका प्रसिद्ध नारी स्रस्टाहरूको अभिलेख छ । ६ वटा महानगरपालिका मध्ये महिला प्रमुख भएको एकमात्र भरतपुर महानगरकी मेयर रेनुजीबाट विमोचन गराउन सान्दर्भिक ठान्यौँ, हाम्रो अनुरोधलाई स्विकार्नु भएकोमा हामीलाई पनि खुसी लागेको छ´, अधिकारीले भने ।
कार्यक्रममा युवा नेता एवम् लेखक कैलाश कोइराला र भरतपुर महानगरका लेखा शाखा प्रमुख जगन्नाथ अर्यालले कृति सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई पठन संस्कारका अभियन्ता एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
पुस्तकमा अनुपम रोशी, अर्चना थापा, उमा सुवेदी, नीलम कार्की निहारिका, प्रगति राई, प्रभा बराल, बिना थिङ, राधिका कल्पित, रेनुका जिसी र सरस्वती प्रतीक्षासँगको कुराकानी छ ।
शिखा बुक्सबाट प्रकाशित पुस्तकको मूल्य ५२५/- रुपैयाँ छ ।