मकवानपुर, ७ असोज ।
वाग्मती प्रदेशसभाबाट ३ वटा विधेयक पारित भएका छन् । संसदीय समितिले संसदमा पेश गरेको विधेयकलाई प्रदेशसभाको सोमबार बसेको बैठकले पारित गरेको हो ।
प्रदेशसभाबाट प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयकको प्रस्ताव पेश गरेकी थिइन् ।
प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेश गरेका थिए । प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रस्ताव पेश गरेका थिए ।
सभामुख भुवनकुमार पाठकले छलफल प्रस्तावपछि उक्त विधेयकहरूलाई सभामा निर्णयार्थ पेश गरेका थिए । सभामुख पाठकले पेश गरेको उक्त विधेयकलाई सांसदहरूले सर्वसम्मत पारित गरेका हुन् ।
आइतबारको बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेश गरेका थिए । शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेश गरेका थिए ।