भरतपुर, ६ असोज ।
६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा चितवन जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । `साइबर सुरक्षा आजको आवश्यकता´ विषयमा सम्पन्न उक्त कार्यक्रम नेपाल पुलिस स्कुल शान्तिपुरको समन्वय तथा प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको थियो ।
प्रतियोगितामा जनप्रिय पब्लिक स्कुलका आदित्य रेग्मी प्रथम, स्काई राइडर सेकेन्डरी स्कुल रत्ननगरकी विज्ञता थपलिया द्वितीय, नेपाल पुलिस स्कुल भरतपुर- १४ का सागर पौडेल तथा स्मल हेभन स्कुल मङ्गलपुरकी त्रिशा महतोले तृतीय स्थान हासिल गरेका छन् ।
कुल २४ जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि शैक्षिक प्रशासन महाशाखा भरतपुरका विद्यालय निरीक्षक अर्जुन सिंह मडै थिए ।
कार्यक्रमको अध्यक्षसमेत रहेका विद्यालयका प्राचार्य मुकुन्द गिरीले कार्यक्रमका विषयमा प्रकाश पार्दै आजको समयमा साइबर क्राइमको विषय निकै संवेदनशील र व्यवस्था गर्न नसकिने भएको बताए । कार्यक्रमको निर्णायकका रूपमा नेपाली भाषा साहित्यका शिक्षकहरू देवी शिरीष, विपिन पाठक तथा रमेश अधिकारी थिए । विद्यालयका समादेशक रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रम नेपाल पुलिस स्कुल शान्तिपुरको सभाहलमा सम्पन्न भएको थियो ।
विभिन्न जिल्लाबाट छनोट भएका निबन्धहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय र तृतीय छनोट गरिने एवम् जिल्ला स्तरका प्रथम, द्वितीय र तृतीयलाई समेत मेडल सहित पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।