मकवानपुर, ६ असोज ।
बागमती प्रदेशसभाको आइतबारको बैठकमा ३ वटा विधेयकको प्रतिवेदन पेश भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका २ वटा र उद्योग, पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको निर्णयको प्रतिवेदन पेश भएको हो ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रदेश सभामा पेश गरेका हुन् । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश गरेका छन् । उक्त विधेयकका प्रतिवेदनहरु माथि सोमबारको बैठकमा छलफल हुने छ । प्रदेश सभामा छलफलपछि उक्त विधेयकहरु पारितको चरणमा लैजाने बताइएको छ ।
सभामुख भुवनकुमार पाठकले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सदस्य केशवप्रसाद पोखरेलले विद्युतीकरण सम्बन्धी विषयमा ध्यानाकर्षण प्रस्ताव पेश गरेका थिए । पोखरेलले पेश गरेको ध्यानाकर्षण प्रस्तावमाथि सभामुख पाठकले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।