भरतपुर, ६ असोज ।
झट्ट सुन्दा कुनै आश्रमको नाम जस्तो लाग्छ, ह्याप्पी होम । नारायणगढको कमलनगरमा २०७४ साल असोज ६ गतेदेखि संचालनमा आएको ह्याप्पी होम एक होटल हो, जहाँको विशेषता भन्नु नै घरायसी वातावरणमा थारु खानाको मजा लिनु हो । होटल ह्याप्पी होमले संचालनका सात वर्ष सफलतापूर्वक पार गरिसकेको छ ।
होटल ह्याप्पी होममा थारु जातिका विशेष परिकार घोँगी, चिचर, माछा, ढिकरी, हाँसको छोयला जति बेला पनि पाइन्छ । ढिकरी चामलको पिठोबाट तयार पारिने परिकार हो भने चिचर अनदीको चामलबाट बनाइन्छ । थारु परिकारबाहेक चाइनिज, इन्डियन र कन्टिनेन्टल खाना पनि यहाँ उपलब्ध छ । यसका साथै ग्राहकलाई आरामदायी रात बिताउनका लागि २० वटा एसी रुमको व्यवस्था गरिएको संचालक कृष्ण महतोले जानकारी दिए ।
शान्त र पारिवारिक वातावरणमा सेवा प्रदान गर्न पिसफुल गार्डेन रहेको छ । गार्डेनमा सानातिना कार्यक्रमसमेत आयोजना हुने गरेका छन् । पार्किङको सुविधा भएको ह्याप्पी होममा मिटिङ हल र सेमिनार हलसमेत छन् । मनमोहक इन्टेरियर रहेको ह्याप्पी होममा खडाईको पर्दा, माछा मार्ने जाल र मकैको झोता सजाइएको छ । देशको पूर्वदेखि पश्चिमसम्मका ठाउँबाट थारु नेता, कलाकार चितवन आउँदा ह्याप्पी होममा जमघट हुने गरेको महतो बताउँछन् ।
वार्षिकोत्सवका अवसरमा छुट
होटल ह्याप्पी होमले सातौँ वार्षिकोत्सव एवं आठौँ वर्ष प्रवेशको अवसरमा असोज ६ गते आइतबारदेखि दशैं, तिहार र छठसम्मको लागि बियर र मदिरा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पाइने संचालक कृष्ण महतोले जानकारी दिए । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरेर चितवन, नवलपुर र तनहुँ आसपासका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुमा पाहुनालाई प्याकेजमा घुमाउने व्यवस्था मिलाइएको उनले बताए ।
ह्याप्पी होमले सेवाग्राहीको सन्तुष्टिलाई नै आफ्नो लक्ष्य बनाएको छ । `हामीकहाँ आइसकेका ग्राहक सेवा लिएपछि फर्किएर जाँदा खुसी हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । त्यसैले होटलको नाम ह्याप्पी होम राखेका हौं´ संचालक महतो भन्छन्, `होम भनेको त घर हो नि । त्यसैले हामीले घरेलु वातावरणमा ग्राहकलाई सेवा दिइरहेका छौं । ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो ।´
यसरी जन्मियो ह्याप्पी होम
ह्याप्पी होमका संचालक कृष्ण महतो भरतपुर महानगरपालिका वडा नम्बर २८, मेघौली, जितपुरका बासिन्दा हुन् । कमलनगरमा दुई वटा घर भाडामा लिएर उनले ह्याप्पी होम चलाइरहेका छन् । किसान परिवारमा जन्मिएका महतोका बुवा हरिश्चन्द्र महतो र आमा मीनाकुमारी जितपुरमै बस्छन् । कृष्ण भने पत्नी मदरी र छोरा एलेक्ससँग कमलनगरमै बस्छन् ।
कृष्णका बुवा हरिश्चन्द्र सामाजिक एवं राजनीतिक अगुवा हुन् । मेघौलीस्थित अन्द्रौली निम्न माध्यमिक विद्यालयमा १८ वर्षसम्म प्रधानाध्यापक भई काम गरेका हरिश्चन्द्रले राजनीतिको लागि शिक्षण पेशा चटक्कै छाडिदिएका रहेछन् । `बुवाले राजनीतिका लागि शिक्षण पेशा छाड्नुभयो´ महतो भन्छन्, `बुवा तत्कालीन मेघौली गाविसको अध्यक्ष बन्नुभयो । हाल उहाँ नेपाल रेडक्रस सोसाइटीमा सक्रिय हुनुहुन्छ । उहाँलाई मेघौलीवासीले नेपाली कांग्रेसको नेताका रुपमा पनि चिन्छन् ।´
बुवा राजनीतिमा सक्रिय भए पनि कृष्णलाई त्यतातिर चासो छैन । उनी उद्यमशील भई व्यस्त रहने कर्ममै रमाइरहेका छन् । ह्याप्पी होम संचालनपूर्व उनले निकै हण्डरठक्कर पनि खाए । अहिले उनको कमाई राम्रै छ । छोरालाई राम्रै बोर्डिङमा पढाएका छन् । उनले भने सरस्वती माध्यमिक विद्यालय जितपुरबाट २०५८ सालमा एसएलसी, जानकी उच्चमावि मेघौलीबाट २०६० सालमा १२ कक्षा उत्तीर्ण गरे । बालकुमारी कलेज नारायणगढबाट बिबिएस पूरा गरेका महतोले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट एमबिएस भने पूरा गर्न पाएनन् ।
एसएलसीपछि १२ कक्षा पढ्दै गर्दा महतोले साना किसान सहकारी मेघौलीमा मासिक एक हजार आठ सय रुपैयाँ तलबमा सहायक प्रबन्धकको रुपमा काम गरे । एमबिएस पढ्दापढ्दै उनी नारायणगढको पुलचोकमा रहेको सेन्ट्रल पाम होटलमा जागिरे बन्न पुगे । स्टोर किपरबाट काम सुरु गरेका उनले फ्रन्ट डेस्कहुँदै प्रबन्धकको भूमिका पनि निभाए । दस वर्ष बित्यो । अब भने महतोलाई आफ्नै व्यवसाय गर्ने इच्छा जागेर आयो । उनले सेन्ट्रल पामको जागिर छाडेको दुई वर्षभित्रै कमलनगरमा ह्याप्पी होम सञ्चालनमा ल्याए । ‘पहिलेको कामको अनुभव अहिले काम लाग्यो ‘ उनले भने ।