भरतपुर, ५ असोज
रक्तदानका क्षेत्रमा लामो समयदेखि सक्रिय रक्त अभियन्ता तथा ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना पिताको स्मृतिमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा `रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार´ घोषणा गरेका छन् ।
भरतपुरको चौविसकोठीमा आफ्ना स्वर्गीय पिता खिमानन्द न्यौपानेको प्रथम स्मृति दिवसका सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अभियन्ता न्यौपानेले एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका हुन् । प्रत्येक वर्ष त्यसको ब्याजबाट देशभरिमा रक्तदानको क्षेत्रमा कर्म गर्ने अब्बल एकजनालाई वार्षिक रुपमा पुरस्कार वितरण गरिने उनले बताए ।
शनिबार आयोजित रक्तदान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल प्रमुख अतिथिका रुपमा रहेका थिए भने विशिष्ट अतिथिको रुपमा संविधानसभा सदस्य गुनाखर बसेल, वरिष्ठ फिजिसियनद्वय डाक्टर भोजराज अधिकारी र डाक्टर प्रतीक न्यौपाने रहेका थिए ।
प्रदेश पूर्वमन्त्री विजय सुवेदी, प्रदेश पूर्व माननीय कृष्ण भुर्तेललगायतका अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा १५२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहेका डाक्टर भोजराज अधिकारी तथा प्रतीक न्यौपानेले रक्तदानका सन्दर्भमा केही गलत धारणाहरू निर्माण भएको भन्दै ब्लड प्रेसर तथा सुगर भएकाले समेत रक्तदान गर्न मिल्ने र रक्तदानले शारीरिक स्वास्थ्यमा कुनैपनि असर नपर्ने बरु फाइदा हुने भन्दै नियमित रक्तदान गर्न सम्पूर्णलाई आग्रह गरे ।
कार्यक्रमको सभाध्यक्ष ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी रहेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक समेत रहेका ब्लड डोनर्स सोसाइटी चितवनका सचिव विपिन पाठकले गरेका थिए । उपस्थित व्यक्तित्वहरूलाई स्वागत मन्तव्यसहित आफ्ना स्वर्गीय पिताको जीवनी वाचन गर्दै आफू रक्तदानको क्षेत्रमा लाग्न बुवाले नै प्रेरित गर्नुभएको र रगतको अभाव हुन नदिन आफूले यो पुरस्कार घोषणा गरेको न्यौपानेले बताए । यो अभियान सबैको साझा अभियान भएकाले मानवताको झण्डा उठाउँदै सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न समेत न्यौपानेले आग्रह गरे ।