भरतपुर, ५ असोज ।
जोन ग्लोरीले दुई गोल गरेपछि गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा शनिबार भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २–० गोलले पराजित गरेको हो । उसको जितमा जोन ग्लोरी नायक बने । दुबै गोल उनले नै गरेका हुन् ।
खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले नै दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । बाँकी समयमा थप गोल हुन नसकेपछि बुटवल लुम्बिनी २–० गोलले विजयी भयो । बुटवलको जितमा दुबै गोल गरेका ग्लोरी म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा आइतबार वीरगन्ज युनाइटेड र विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं भिड्ने छन् । खेल दिउँसो ३ः३० बजे हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सहप्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रबर्धक संस्था हुन् ।