मकवानपुर, ५ असोज ।
मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्तरुपमा दिने महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमबिच अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
अर्याललाई समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने तथा महालक्ष्मी विकास बैंकका क्षेत्रीय प्रवन्धक शम्भूप्रसाद पराजुलीले पुरस्कार प्रदान गरेका थिए ।
सोही अवसरमा समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार–२०८० बाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । न्यौपानेलाई दश हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा मकवानपुर श्री सम्मान–२०८१ मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई प्रदान गरिएको छ ।
२०५६ सालमा स्थापना भएको समाजले २०५९ सालमा यती फाइनान्स साहित्य पुरस्कारको स्थापना भएको हो । पछि २०७४ को १५ औँ शृंखलादेखि पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार बनाइएको छ ।
मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण/संबर्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो । समाजले विभिन्न विधामा १७ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।