मकवानपुर, ५ असोज ।
कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ शनिबार हेटौंडामा सार्वजनिक भएको छ । बहिष्कृत आवाजलाई सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा रामजी रामले सार्वजनिक गरेका हुन् ।
हेटौंडामा बहिष्कृत आवाज विमाेचन, वाचन र विमर्श कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएकाे हाे । लामाले १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ६ खण्डमा विभाजन गरी पुस्तककाे आकार दिएका हुन् । शिक्षण पेशामा आवद्ध लामाले कविता कृतिमार्फत बहिष्करणमा परेका, पारिएका वर्गको आवाज बोल्ने प्रयास गरेका छन् ।
सांग्रिला बुक्सले बजारमा ल्याएको कविता कृति ‘बहिष्कृत आवाज’ माथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष नेपाली र रामले टिप्पणी समेत गरेका थिए । कार्यक्रममा लामाले आफ्ना प्रतिनिधिमूलक कविताहरू वाचन समेत गरे ।