भरतपुर, ५ असोज ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था र भरतपुर महानगरपालिका वडा नम्बर -५ को आयोजनामा आधारभूत कृषि तालिम दिइएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्यनरत विद्यार्थीको समूहले तालिममा सहभागीका लागि कृषि तथा पशुपालन आधारभूत तालिमको सहजीकरण गरेका थिए ।
नवदुर्गा भवानी वचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई कृषिमा कर्जा लगानी गरेकाले आफ्ना शेयर सदस्यलाई कृषिमा व्यावसायिक बनाउन र नयाँ तरिकाले पशुपालन तथा पशुमा लाग्ने रोग निवारण र उपचारका पद्धति सिकाउने र उद्यमी बनाउने उद्येश्यले कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । तालिममा कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर – ५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठले मन्तव्य राख्दै वडाका सम्पूर्ण नागरिकका कृषि तथा पशुपालन समस्या आफ्नो पनि समस्या रहेको र किसानलाई परेको समस्यालाई आफू वडाको अध्यक्षका हैसियतले सहयोग पुर्याउने प्रतिबद्धता गरे ।
कार्यक्रममा उपस्थित सहभागीलाई स्वागत राख्दै र कार्यक्रमको उद्देश्यबारे सहकारीका सचिव रामकृष्ण पौडेलले प्रष्ट पारेका थिए । रामपुर कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपेन्द्र चौहान, विनिता बास्तोला, देवीदत्त रोकाय, श्रृष्टि गौतमले सहजीकरण गरेको तालिममा विष्णुप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।