गैंडाकोट, ४ असोज ।
स्वास्थ्य बीमा बोर्ड नवलपुर (ब.सु.पूर्व)ले गैंडाकोट नगरपालिकाका जनप्रतिनिधि, बीमा दर्ता सहयोगी तथा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
स्वास्थ्य बीमा बारेमा अझै पनि आम जनतालाई बुझाउन वडा दर्ता सहयोगीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मदनभक्त अधिकारीले बीमाको उद्देश्य हुनेले नहुनेलाई सहयोग गर्ने भएकाले पनि नगरभित्रका अति गरिब, फरक क्षमता भएका व्यक्तिहरू, जेष्ठ नागरिकहरू र विभिन्न असाध्यै रोग लागेकाका लागि केन्द्र, प्रदेश र स्थानीय तहबाट समेत सहयोग हुने भएकाले सम्पूर्णलाई बीमा आबद्ध हुन आग्रह गरे ।
स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित एक सेवामुखी सामाजिक सुरक्षाको ग्यरेन्टी गर्ने कार्यक्रमको रुपमा जनता माझ स्थापित हुँदै आइरहेको छ । गएको आर्थिक वर्षमा गण्डकी प्रदेशमै सबैभन्दा बढी विमित भएको नवलपुर जिल्ला रहेको र त्यसमा पनि गैंडाकोट नगरपालिका अग्रस्थानमा रहेको जानकारी दिँदै नगरका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले पाँच शैय्याको अस्पताल गैंडाकोट अस्पतालकै शाखाका रूपमा नगरपालिका परिसरमै तयार भइसकेको र केही महिनाभित्र स्वास्थ्य सम्बन्धी उपकरणहरू व्यवस्थापनसँगै सुरु हुने जानकारी गराउँदै नगरभित्र रहेका विमितहरूलाई गैंडाकोट अस्पताल नै प्रथम सेवाबिन्दु बनाउन आग्रह गरे । उनले गण्डकी प्रदेशमा स्वास्थ्य बीमाबाट सबैभन्दा धेरै विमितलाई उपचार सहितको सेवा दिन सक्षम रहेको बताए ।
नवलपुर स्वास्थ्य बीमा बोर्डका संयोजक ध्रुव बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा आफ्नो भनाइहरू राख्दै बोगटीले स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधरणहरु समाहित गर्नको लागि नगरभित्र रहेका रहेका प्रत्येक वडा दर्ता सहयोगीको महत्वपूर्ण भूमिका हुने र नगर भित्र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा गैंडाकोट नगर स्वास्थ्य बीमा अब्बल रहनेमा आफू विश्वस्त रहेको बताए । उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नगर स्वास्थ्य कार्यक्रमका पदाधिकारीहरू, नगरभित्र रहेका प्रत्येक वडाका दर्ता सहयोगीहरूलगायत जिल्ला स्वास्थ्य बीमा बोर्ड नवलपुरबाट हरिप्रसाद भण्डारीको उपस्थिति रहेको उक्त कार्यक्रमलाई स्वास्थ्य बीमा जिल्ला बोर्डका सदस्य कृष्ण साउँदले कार्यक्रमको सहजीकरण गरेका थिए ।