समयलाई २५ वर्ष धकलेपछि ठानप्रसादजीको रहर अनेक अनेक कृति हात पर्यो । हामी दुवैको पेसा मास्टरी । यस पेसाले धादिङ सल्यानटारका ठानप्रसाद बसौला र मेरो भेट गराएको थियो । हामी मावि तहमा नेपाली पढाउने शिक्षक ।तत्कालीन सेडु अर्थात्त् माध्यमिक शिक्षा विकास परियोजनामा लामो तालिमले हाम्रो भेट गराएको थियो । त्यसपछि फोनसम्पर्क दुई चार पटक भयो होला ! एक्कासि बालकृष्ण थपलियाले ठानप्रसाद बसौलाजीको गजलसङ्ग्रह रहर अनेक अनेक थमाए र भने गजल मञ्च चितवनको कार्यक्रममा यस पुस्तकमाथि तपाईँले बोल्नु पर्ने छ । २५ वर्षपछि साथी भेट नभए पनि उनको गजलकृति हात पर्दा फुलेल भएँ ।
२. को हुन् ठानप्रसाद बसौला ?
ठानप्रसाद बसौला ( २०३०) धादिङलाई कार्यक्षेत्र बनाएका गजलकार हुन् । त्रिपुरासुन्दरी गाउँपालिका – १ सल्यानटार , धादिङलाई कार्यथलो बनाएका बसौला पेसाले शिक्षक हुन् । पिता छन्दलाल बलौला र कुलादेवी बसौलाका छोरा हुन् । उनी सल्यानटार माध्यमिक विद्यालयका प्रधान अध्यापक पनि हुन् । उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका धादिङका अध्यक्ष पनि हुन् । यसरी हेर्दा उनी एक किसिमले शिक्षकका नेता पनि हुन् ।
३. के विषय छ त रहर अनेक अनेकभित्र ?
रहर अनेक अनेक ठानप्रसाद बसौलाको पहिलो कृति हो । गजल मञ्च चितवन प्रकाशक रहेको रहर अनेक अनेक गजलसङ्ग्रहभित्र चौरासीओटा गजलहरू सङ्गृहीत छन् । पुस्तकमा भूमिका राख्ने पुरानो प्रचलनलाई गजलकारले पछ्याएका छन् भने सङ्ग्रहको आवरण प्रकाश थापाले बनाएका छन् । कवि गोविन्दराज विनोदीले सङ्ग्रहमा प्रविष्ट गजलहरूको साङ्गोपाङ्गो विश्लेषण गरेका छन् भने बालकृष्ण थपलियाले बसौलासँगका बसउठका कुरादेखि गजलभित्रका मूल विषयहरूलाई प्रस्तुत गरेका छन् ।गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले सूत्रात्मक रूपमा प्रकाशकीय लेखेका छन् । रहर अनेक अनेकभित्र देशप्रेम, समाजप्रेम , विकृत विसङ्गत जीवनको चित्रण , दैहिक प्रेम , नेतृत्व वर्गप्रति आक्रोश गरिएको पाइन्छ । समसामयिक युग जीवनका विसङ्गत पक्षलाई गजलकारले आफ्ना गजलमा प्रस्तुत गरेका छन् । गजलकार मूलत : आफू बाँचेको समाजप्रति असन्तुष्टि प्रकट गर्दछन् । गजलकारलाई बहरबिना पनि गजल लेख्न सकिने ठान्दछन् । यसर्थ सङ्ग्रहका सबै गजलहरू स्वछन्दमा लेखिएका छन् । सङ्गृहीत गजलका बान्कीहरूका मूल रूपमा तीनवटा स्वरहरू रहेका छन् ।
३. १. राष्ट्र् राष्ट्रियताप्रति : रहर अनेक अनेक
गजलकार बसौलाको गजलसङ्ग्रहको मूल स्वर देशप्रेम हो । सङ्ग्रहका समाविष्ट अधिकांश सङ्ग्रहमा देश दुखेका कुरा छन् , हराउँदै गएकै राष्ट्रियताप्रति चिन्ता प्रकट गरिएको छ ।
साक्ष्यहरू –
मेची हाम्री काली हाम्री सुन्दर सगरमाथा
जुनीजुनी तिम्रो काखमा भुल्न पाए हुन्थ्यो । पृ ८४
सपना पनि नराम्रो देख्छु आजकल
बिहानै कालो काग कराउँदै छ मेरो देशमा । पृ ४
३. २. दैहिक प्रेमको अभिव्यक्ति : रहर अनेक अनेक
गजलको उत्पत्ति प्रेमविषयक अभिव्यक्तिलाई उजागर गर्नको लागि भएको मानिन्छ । गजलकार दैहिक / प्रेमविषयक गजलहरूमा सफल देखिन्छन् :
साक्ष्यहरू
चिसा थिए रातहरू तताउन आयौ
शान्त थिए मनहरू मताउन आयौ । पृ ८२
मुहारमा चाँदनीको रश्मि देख्छु म त सधैँ
हृदयको खेत भरी हलो चलाइदिऊँ कि ? पृ ६१
३. ३. विसङ्गत समाजको चित्रण : रहर अनेक अनेक
गजलकारले सामाजिक असङ्गतिप्रति निकै आक्रोशभाव व्यक्त गरेका छन् । गरिबहरू दिनप्रतिदिन गरिब बन्दै गएकोमा उनी गुनासो गर्छन् । सामाजिक बेथितिका प्रशस्त बिब्ल्याँटाहरूलाई गजलकारले उजागर गरेका छन् ।
साक्ष्यहरू
अजिङ्गरको आहारा दैवले दिन्छ
सिन्को नभाँची यहाँ सुतेर खाऊ । पृ ७१
सपना बोकेर बसेको छु ढुक्क हुने आशा
जिन्दाबाद र मुर्दाबादको गाना फेरिएन । पृ ३८
४. रहर अनेक अनेकको प्राप्ति र सीमा
गजलकारले निर्धक्क सामाजिक विसङ्गति विरुद्ध धावा बोलेका छन् । बसौलाको हक्की स्वभावलाई उनका गजलहरूले प्रतिबिम्बित गर्छन् । बेथिति र कुसंस्कारको जरो उखेल्न जनमा उत्साह भर्छन् उनका गजलहरूले । माया र पिरतीको गहिरो दहमा उनी मजैले नुहाएका छन् र पाठकलाई पनि बेलाबेलामा डुबाइदिन्छन् प्रेममय रहमा । उनी प्राय : गजलहरूमा हाकाहाकी चुनौतीको भाषा बोल्छन् । मलाई यस किसिमको भाषा खास्सा लागेको छ । गजलका सेयरहरूमा समान वर्णहरू नहुनु , काफियाको अनुप्रासमा मात्र जोड दिनु , सेयरहरूमा लयात्मकताको अभाव हुनु रहर अनेक अनेकका सीमा हुन् ।
५. अबको भेट रजत भेट नहोस्
अब बसौलाजीसँग पटकपटक भेट हुने इच्छा छ । त्यो पनि नयाँ काव्यसहित सल्यानटारमा । यो कुरो उनले र पाठक दुवैले सहज रूपमा बुझ्ने हुनाले व्याख्यात्मक टिप्पणीतिर लागिन । बस् म उनको अर्को काव्यको प्रतीक्षामा छु । शिक्षण पेसा र शिक्षकको राजनीतिसँगै उनीबाट सुन्दर सिर्जना हुने छ भन्ने विषयमा ढुक्क छु । काव्य रहर मात्र होइन , सामाजिक कहरको रूपमा पनि आएको छ है ।