भरतपुर, ३ असोज ।
गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको गोलमा सूर्यपुरले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै समय टिकेन ।
पहिलो हाफको ३८औं मिनेटमा दीपेश चाम्लिङ राईले बागमतीका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा सूर्यपुरले प्रशस्तै अवसर पाए पनि सदुपयोग गर्न सकेन । निर्धारित समयमा बराबरी गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ३–३ गोलको बराबरीपछि सडन डेथमा सूर्यपुर विजयी भयो ।
सूर्यपुरका गोलकिपर दीप कार्की म्यान अफ दि म्याच भए । प्रतियोगितामा शुक्रबार आयोजक हानामी भरतपुर फुटबल क्लब र राईजिङ स्टार भूमही भिड्ने छन् । असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सहप्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रबर्धक संस्था हुन् ।