मकवानपुर, ३ असोज ।
बागमती प्रदेशका ५ जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रदेश प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–१२, थानीचोकमा एक पुरुष मृत फेला परेका छन् । बुधबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा सडकपेटीमा नामथर नखुलेका, तराई मुलका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । उनको मुचुल्कापश्चात शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ ।
चितवनको राप्ती नगरपालिका–९ सुख्खा खोलामा बेहोस अवस्थामा फेला परेका पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१०, ढाटखोला बस्ने ४० वर्षीय दलबहादुर चेपाङ रहेका छन् । बुधबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा चेपाङ बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । चेपाङलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा बेलुका ७ बजेर २० मिनेटमा मृत्यु भएको थियो ।
यसैगरी, दोलखाको बिगु गाउँपालिका–४ स्थित झोरुङ खोलामा एक जना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा बिगु गाउँपालिका–८ आहाले बस्ने ७५ वर्षीया सोमिता थामी रहेको प्रहरीले जनाएको छ । थामी भदौ ३१ गते सोमबार दिउँसो ३ बजेदेखि परिवारको सम्पर्कमा थिइनन् । उनी बुधबार दिउँसो २ बजेको समयमा झोरुङ खोलामा ढुंगाको चेपमा मृत अवस्था फेला परेकी थिइन् ।
काभ्रेको बनेपा नगरपालिका–१४, नासिकामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भुम्लु गाउँपालिका–१ घर भई हाल नासिका बस्ने ३० वर्षीय मनिन्द्र गिरी रहेको प्रहरीले जानकारी दिएको छ । गिरी बुधबार दिउँसो २ बजेसम्म पनि कोठा बाहिर ननिस्केको र कोठा भित्रबाट बन्द रहेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई ढोका फेरेर हेर्दा गिरी आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४, ग्याल्थुममा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी घर भई हाल ग्याल्थुम बस्ने २२ वर्षीय जवेर अन्सारी रहेको प्रहरीले जनाएको छ । अन्सारी कोठा भाडामा बसी सिलाई कढाईको काम गर्दै आएका थिए । अन्सारी बुधबार दिउँसो ३ बजेको समयमा मादक पदार्थ सेवन गरी अचेत अवस्थामा फेला परेका थिए । अन्सरीलाई उपचारका लागि मेलम्ची नगर अस्पतालमा पु¥याइएको थियो । उनलाई उपचारको क्रममा ४ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।
यसैगरी, सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित मरिण खोलामा पौडी खेल्ने क्रममा एक किशोर वेपत्ता भएका छन् । पौडी खेल्दा बेपत्ता भएका ती किशोरको बुधबार शव फेला परेको थियो । प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका–५ खनियाखर्क घर भई हाल कमलामाई नगरपालिका–६ पानीट्यांकीमा डेरा बस्ने १९ वर्षीय लालबहादुर खपांगी बुधबार मरिण खोलामा पौडी खेल्ने क्रममा डुबी बेपता भएका थिए । खपांगी खोलाको दहमुनि मृत अवस्थामा फेला परेका थिए ।