भरतपुर, ३ असोज ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । कलेज स्थापनाको पहिलो वर्षमा संविधान दिवसको अवसरमा पारेर बिशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको कलेजका अध्यक्ष यज्ञविला (वाइबी) पौडेलले बताए ।
कलेजका प्राचार्य डाक्टर टीआर चालिसेका अनुसार कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै छ । कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमको उद्देश्य सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउनु रहेको प्राचार्य चालिसेले बताए ।
कलेजका अध्यक्ष यज्ञविलास (वाइबी) पौडेलले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको बताए । `महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एकएक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति प्रदान गरिनेछ´, अध्यक्ष पौडेलले भने – `विपन्न, जेहेनदार विद्यार्थीलाई वडाको हकमा वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्नेछ । यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रवृत्ति प्राप्त गर्नेछन ।´
छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआएएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैयाँमा अध्ययन गर्न पाइनेछ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने अध्यक्ष पौडेलको दाबी छ । `यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ । यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्ने विश्वास हामीले लिएका छौं´, पौडेलले भने ।
सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने अध्यक्ष पौडेल बताउँछन् । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ । कलेजको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र दिने मात्र नभई विद्यार्थीहरूलाई हरेक क्षेत्रको प्रतिस्पर्धामा उत्रिन योग्य बनाउनु हो´, पौडेलले बताए ।
पौडेलका अनुसार कलेजको शैक्षिक दृष्टिकोण विद्यार्थीहरूलाई विशुद्ध अध्ययन मात्र नभई, उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिने रहेको छ । कलेजले चितवनमा मात्र नभई देशभर नै नयाँ शिक्षा प्रणालीको विकास गर्ने लक्ष्य राखेको छ ।
निर्वाणा कलेजको रूपमा स्थापना भएको कलेजको नाम परिवर्तन गरेर सेन्ट्रल मोडेल कलेज बनाइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरूलाई शैक्षिक परामर्श दिँदै आएको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरकै सञ्चालक समितिले कलेज सञ्चालनमा ल्याएको हो ।