मकवानपुर, ३ असोज ।
मकवानपुर प्रहरीले भन्सार छली ल्याइएका १ करोड ३५ लाख मूल्य बराबरकाे कपडासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे कपडासहित भारत, बिहार मोतिहारी, तुकालिया पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौंडा १५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा प्रहरी टोलीले सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जाँदै गरेको बीआर०५जीडी१३४३ नम्बरकाे भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सो को भित्री भागमा लुकाई जम्मा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एवं पाईन्टको कपडाहरु ल्याएको पाईएकोले ट्रक चालक आलम र सहचालक मियालाई नियन्त्रणमा लिएकाे हाे ।
भन्सार छली ल्याईएका उक्त कपडा, आलुका बोराहरु गरी १ करोड ३५ लाख बराबरको सामग्रीहरु बरामद गरी बरामद गरिएका दशीका समानहरु, भारतीय ट्रक र सो ट्रकका चालक तथा सहचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।