मकवानपुर, ३ असोज ।
बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्द्धनलाई १० हेटौंडा नगर परिक्रमा गराएको छ । प्रदेश खेलकुद विकास परिषद्को व्यवस्थापनमा पदक विजेता पलेशालाई प्रदेश राजधानी हेटौंडा परिक्रमा गराएको हो ।
प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा गराएर १० लाख रुपैयाँ नगदसहित सम्मान गरेकाे छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेशालाई १० लाख रुपैयाँ नगदसहित सम्मान गरेकाे हाे । यसैगरी पलेशाका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिएकाे छ ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिएकाे छ । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई करातेमा रजत पदक दिलाएकी हुन् । यसअघि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले नेपालका लागि पहिलो पटक रजत दिलाएकी थिइन् ।
प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गरेकाे छ ।