मकवानपुर, २ असोज ।
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बुधबार बागमती प्रदेशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशका उत्कृष्ट विद्यालयलाई हेटौडामा एक कार्यक्रमबिच पुरस्कृत गरेको हो ।
शिक्षा दिवसको अवसरमा ५ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको छ । शिक्षा विकास निर्देशनालयले छनौट गरेका सामुदायिकतर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्द्रागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँ र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौँ उत्कृष्ट भएका थिए ।
संस्थागततर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौँ, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौँ, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौँ, शांकरी स्कुल छाउनी काठमाडौँ र माउन्ट ग्लोरी इंग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ । निबन्ध लेखन प्रतियोगितामा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौँ प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगदसहित मुख्यमन्त्री बहादुरसिंह लामा, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक दिपेन्द्र सुवेदी लगायतले पुरस्कृत गरेका थिए ।
बागमती प्रदेश मुख्यमन्त्री लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकको जिम्मेवारी रहने भएकोले उनीहरुलाई समेत सुधार गर्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रको गुणस्तर र नतिजामुखी बनाउन अभिभावकहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए । सामाजिक विकास मन्त्री खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकारले लगानी बढाउने बताइन् । उनले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नु पर्ने बताइन् ।