मकवानपुर, २ असोज ।
कवि यश लामाको कवितासङ्ग्रह ‘बहिष्कृत आवाज’ असोज ५ गते विमोचन हुन लागेको छ ।
कवि लामाका अनुसार कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी राम वक्ताका रूपमा रहने छन् । सङ्ग्रहमाथि विमर्शसमेत रहेको कार्यक्रममा लामाले आफ्ना प्रतिनिधिमूलक कविताहरू वाचन गर्नेछन् ।
विद्यार्थी कालदेखि नै कविता लेख्दै आएका कवि लामा निजगढ, बारा निवासी हुन् । शिक्षण पेशामा आबद्ध लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा विभाजन गरी समावेश गरेका छन् ।
कवि लामाका बारेमा एसके निधन भन्छन् – `यश लामा सतही माटोको कविता लेख्दैनन् । माटो सुमसुम्याउछन, बासनाको स्वाद लिन्छन् र माटोको उर्वराशक्तिमा उर्जात्मकता थप्ने गरि कविता लेख्छन् । उनका कविता मान्छेमाथि हुँदैनन् । उनले ती अमान्छेमाथि बज्र हान्छन् जसले मान्छेलाई मान्छे हुन रोकिराखेका छन् ।´
कवि लामा र उनका कविताका सम्बन्धमा कवि निमेष निखिल भन्छन् – `कोमल काव्यिक चेतनामा प्रतिरोधी स्वर सुसेल्ने युगसचेत कवि हुन् यश लामा । आफ्नोपनको महक बोकेका उनका कविताहरूमा शालिन विद्रोहको टड्कारो हुङ्कार पाइन्छ । नवीन बिम्ब, नवीन प्रतीक र नवीन काव्यिक शिल्पको निर्माणमा अघि बढ्दै गरेका लामा समयको क्यानभासमा क्रान्ति र विद्रोहको रातोपन पोत्न उत्सुक देखिन्छन् । भुइँमान्छेको पक्षधरता, समकालीन चेतनाको गुञ्जन, शिल्पसचेतता र किनारीकृतहरूसँगको सहयात्राको आग्रहले उनका कविताको धरातल बलियो बनेको छ । कवितामा यस प्रकारको वैचारिक स्पष्टताले लामालाई अरू समकालीनबाट सहजै छुट्याउँछ । उनको पहिलो सङ्ग्रह ‘बहिष्कृत आवाज’ लाई नेपाली समाजले यसैको साक्ष्यका रूपमा पाउने छ ।´
अधिवक्ता तथा लेखक ऋषि केबी भन्छन् – `यश लामालाई चिनेको छु, सुनेको छु, पढेको छु । त्यसैले पनि ‘बहिष्कृत आवाज’ चेतना र बिद्रोहको त्यो क्रान्तिकारी छलाङ् हो भन्ने मेरो आधार र कारणसहितको ठोकुवा हो ।´
सामाजिक विषयवस्तुलाई लिएर वहिष्करणमा परेकाहरूको आवाजका साथै विभेद र असमानताका विरूद्ध साहित्यिक लेखनबाट चिनिनु भएका लामा गजलमा समेत दख्खल राख्नुहुन्छ । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित सो कवितासङ्ग्रह लामाको पहिलो पुस्तकाकार कृति विमोचन कार्यक्रम शनिबार बिहान ११:४५ मा रोयल पार्टी प्यालेसमा आयोजना हुनेछ ।