मकवानपुर, १ असोज ।
मकवानपुरको हेटौंडामा जारी तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर भेट्रान्स काठमाडौले जितेको छ । मंगलबारको फाइनलमा पूर्वेली भेट्रान्स झापालाई ३–२ गोलले पाखा लगाउँदै फ्रिडम फाइटरले उपाधि चुमेको हो ।
रोटरी मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको विजेता हुँदै फ्रिडम फाइटरले २ लाख २ हजार २२२ रुपैयाँ पायो भने उपविजेतामा पूर्वेलीले एक लाख १ हजार १११ रुपैयाँमा चित्त बुझायो । खेलको पहिलो हाफमा फ्रिडमले ३ गोल गरेको थियो । पहिलो हाफमा झापा खेलमा फर्कन कोशिस गरे पनि सकेन । खेलको दोस्रो हाफमा पूर्वेलीले जवाफी २ गोल गरेको थियो ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलको तेस्रो मिनेटमै काठमाडौंले निलेन्द्र देवानको गोलमार्फत अग्रता बनाएको थियो । खेलको २० मिनेटमा देवानले नै अर्काे गोल गरे । काठमाडौंका लागि खेलको ३७ औं मिनेटमा विकर्ण श्रेष्ठले तेस्रो गोल गरे । ३ गोलले पछि परेको झापाले दोस्रो हाफमा २ गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएको थियो । झापाको लागि ४० औं मिनेटमा मित्र बस्नेतले र ४३ औं मिनेटमा रमेश गुरुङले गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याच काठमाडौंका निलेन्द्र देवान घोषित भए । सर्वोत्कृष्ट खेलाडीले दस हजार रुपैयाँ प्राप्त गरे ।
सोमबारको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोलले पराजित गर्दै फ्रिडम फाइटर फाइनल प्रवेश गरेको थियो भने आइतबारको पहिलो सेमिफाइन खेलमा नव जनजागृति भेट्रान्स सिमरालाई १–० गोलले पराजित गर्दै पूर्वेली भेट्रान्सले फाइनल यात्रा तय गरेको थियो ।
जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगको लागि प्रतियोगिता आयोजना गरिएकोमा प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको थियो ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन भएको थियो । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएको ८ ए साईड भेट्रान्स प्रतियोगिताको पहिलो र दोस्रो संस्करण चितवन भेट्रान्स क्लबले हात पारेको थियो ।