भरतपुर, १ असोज ।
रत्न पुस्तक भण्डार, काठमाडौँले डा. दामोदर पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित गरेको छ ।
डा. पुडासैनीले सन् २०२३ मे २० देखि जुलाई २८ सम्म अमेरिका बसाईंका क्रममा ५३ वटा कविताहरू रचेका थिए । यी सबै कविताहरू अमेरिकी भावभूमि, मिथक र विम्बमा आधारित भएर, वैज्ञानिक विकासको उपलब्धि समेटेर, अमेरिकी समाजको मनोभावना समेटेर, अमेरिका र बाहिरी विश्वको मानसिकता समेटेर रचिएका नवीन ढङ्गका सिर्जनाहरू हुन् ।
उक्त कृतिको प्रकाशन संस्था रत्न पुस्तक भण्डारले भनेको छ, ‘मेन स्ट्रटमा कुदिरहेकी स्वास्नीमान्छे कवितासङ्ग्रहमा संगृहीत कविताहरूले नेपाली काव्य लेखन परम्परामा विलकुल नयाँ मोड ल्याएको छ । यी कविताहरूले जीवन र जगतलाई नयाँ ढंगले खोज्न उत्प्रेरित गर्दछन् र नवीन पथतिर अग्रसर बनाउने सूत्रहरू समेत प्राप्त गर्न मद्दत मिल्दछ । यो सङ्ग्रह नेपाली काव्य जगतको नयाँ विषय र नयाँ शैलीको अति उत्तम नमूना भएर नै हामीले प्रकाशमा ल्याएका हौँ ।’
पश्चिमबंगाल युनिभर्सिटी, भारतका प्रा.डा. कृष्ण घतानीले लेखेका छन्, ‘कवि दामोदको कविताकृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे अहिलेको जल्दोबल्दो युगको प्रतिच्छाया बोकेको विम्ब हो । अमेरिकी कवि वाल्ट ह्वीटमनले रचेका कवितासङ्ग्रह लिभ्स अबग्रासमा भन्दा डा. पुडासैनीले अझ आधुनिक दृष्टि दिएर विश्व वैभव सम्पन्न अमेरिकाको ऐश्वर्य, शक्ति, सामथ्र्य उजागर गर्न अमेरिकी विम्ब र प्रतीकको आधारमा विश्वमानव जीवनको वास्तविकता यकिन गरेका कविता रच्न सफल भएका छन् ।’
भाषा आयोग नेपालका सदस्य, समालोचक एवं कवि डा. अमर गिरीले यस पुस्तकबारे लेखेका छन्, ‘कवि पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणामलाई नियाल्न सकिन्छ । उहाँका कविताहरू अन्तर्वस्तु र रुपका दृष्टिले अत्यन्त राम्रा छन् । अमेरिका बसेर गरिएका अनुभूतिहरूको कलात्मक प्रकाशनका कारण कविताहरू जीवन्त बनेका छन् । अमेरिकामा बस्नेहरूले गर्ने डायस्पोरिक अनुभूति, उनीहरूको पीडा र मनोविज्ञान, उनीहरूको स्वप्न र विरोधाभासको चित्रण पनि पुडासैनीका कवितामा राम्रोसँग गरिएको छ ।’
वर्तमान समयमा अमेरिकालाई कर्मभूमि बनाइरहेका प्रसिद्ध कवि एवं लेखक गोविन्द गिरी ‘प्रेरणा’ ले लेखेका छन्, ‘यो कवितासङ्ग्रहले कवि दामोदरलाई ऊर्जाशील कविका रुपमा पुनः प्रमाणित गरेको छ । कवि पुडासैनीले अमेरिका भ्रमणलाई पाइला पाइलामा कविता टेकेर, कविता सोचेर, कविता चिन्तन गरेर र कविता मनन गरेर कवितामय यात्रा बनाउन सफल भएका छन् । अमेरिकी विम्ब, अमेरिकी प्रतीकहरू यी कविताका पानाहरूमा छताछुल्ल देख्न र महसुस गर्न सकिन्छ ।’
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे डा. दामोदर पुडासैनी ‘किशोर’ को उन्नाइसौं कृति हो । यस अघि उनका दस कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह र एक दर्शन कृति प्रकाशित भैसकेका छन् । जीवन र जगतलाई अनुभव र अनुभूतिका माध्यमबाट हेर्न, बुझ्न र विस्तार गर्न सकिने दर्शनलाई आत्मसात गर्दै रचिएका पुडासैनीका सबै कृतिहरू आमपाठकको छनौटमा पर्दै आएका छन् ।
डा. दामोदर पुडासैनी ‘किशोर’ को मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे कवितासङ्ग्रह रत्न पुस्तक भण्डार, बागबजार र भुँडीपुराण प्रकाशन, बागबजारमा उपलब्ध भैसकेको छ । निकट भविष्यमै देशका प्रमुख बिक्रेतामार्फत उपलब्ध गराइने पुस्तकको प्रमुख वितरक भुँडीपुराण प्रकाशनका कशेव पराजुलीले बताए ।
प्रकाशक रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ र सुरेश श्रेष्ठले अमेरिकी परिवेशमा रचिएका कविताहरूको यो सङ्ग्रह विश्वका सबै पाठकहरूको माग अनुसार युरोप र अमेरिकामा समेत उपलब्ध गराइने बताए ।