भरतपुर, १ असोज ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पनि अब्बल र क्षमतावान छन् भन्ने देखाएका छन् नारायणगढमा रहेको आदिकवि भानु माविका विद्यार्थीले । भानु माविमा पढ्ने विद्यार्थीले विज्ञानमा आफ्नो कला देखाएका हुन् ।
उनीहरुले वैज्ञानिक सिद्धान्तमा आधारित आविष्कारलाई कलाबाट प्रस्तुत गरेर आफूलाई मात्र प्रस्तुत गरेनन्, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई पनि प्रमाणित गरे । कक्षा सातदेखि दससम्मका विद्यार्थीले विज्ञानको कलामा आफ्नो सिर्जना देखाएका हुन् ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा भानु माविमा विज्ञानको प्रदर्शनी आयोजना गरिएको थियो । कक्षा सातदेखि दससम्मका विद्यार्थीले आफ्नो क्षमता प्र्रस्तुत गरे । उनीहरुले डोजर, हावाको चापबाट चल्ने पानीको शुद्धिकरण विधि, ज्वालामुखी विस्फोट, हाइड्रोलिक पुल, ढोका बनाएका थिए ।
कक्षा आठका विद्यार्थीले शहरी विकासको अवधारणा सहितको नमुना तयार गरे । शहरी विकासको नमुना बनाउँदै फोहोर ब्यवस्थापन, वातावरण संरक्षण सहितको शहरी विकासको योजना सहितको स्मार्ट सिटीको नमुना देखाए ।
न्युटन्स ब्रेकर बनाउने कक्षा ९ का निशान्तराज पाण्डेको टोली पहिलो भयो । हाइड्रोलिक क्रेन बनाउने कक्षा दसका संगम अधिकारीको टोली दोस्रो भएको थियो । हाइड्रोलिक ब्रिज बनाउने कक्षा दसका रिसब पाण्डेको टोली तेस्रो भएको छ ।
विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । ३२ वटा स्टल थियो । किताबी ज्ञानलाई व्यवहारमा उतारेर आफ्नो क्षमता देखाएको दिपेश रायले बताए ।