गैंडाकोट, १ असोज ।
गैँडाकोट नगरपालिका वडा नम्बर ८ र ४ अन्तर्गत टोल संजालका अगुवा सदस्यहरुलाई भर्मी कम्पोष्ट (गँड्यौला मल) प्रविधिको व्यवहारिक प्रयोगात्मक ज्ञानको अभ्यास सहितको अभिमुखीकरण कार्यक्रम गरिएको छ । गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजनामा विद्यालयको सभाहलमा ९० जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
‘विद्यालय र समुदायको संयुक्त आह्वान : दिगो विकास लक्ष्य प्राप्तीमा योगदान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयका प्रिन्सिपल हीरालाल अर्यालले उत्प्रेरणात्मक भनाइ राखेका थिए । अभिमुखीकरणमा सहभागीहरुलाई भर्मी कम्पोष्टका अभियन्ता गोपीचन्द्र रिमाल, आउट रिच संयोजक अस्मिता श्रेष्ठ तथा विद्यालयका जनसम्पर्क तथा सूचना अधिकृत श्रीहरि चालिसेले सहजीकरण गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सामाजिक कामहरु गर्नुपर्छ भन्ने मान्यता राख्दै विद्यालयले समुदायमा कार्यक्रम गर्दै आएको र समुदायलाई सशक्तीकरण गर्दै वातावरण संरक्षण र फोहोर व्यवस्थापन गर्दै समुदाय प्रति चासो र उत्तरदायित्व बहन गर्दै विद्यार्थीलाई विद्यालय शिक्षासँगै सामाजिकीकरण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका जनसम्पर्क तथा संचार अधिकृत चालिसेले बताए ।
विश्वव्यापीरुपमा बढ्दै गइरहेको जलवायु परिवर्तन र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नका लागि हरेक घरवाट फोहोर व्यवस्थापन गदै जैविक र अर्गानिक मल उत्पादन र व्यवस्थापनमा विद्यालयले गँड्यौला मल निर्माण अभियान सुरु गरेको चालिसेले बताए ।
भान्छामा हरेक दिन प्रयोग हुने तरकारी तथा फलफूलमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै गइरहेको छ । विषादीरहित अर्गानिक खाद्यान्नको प्रयोग बढाउन सकेमा स्वस्थ जीवन जीउन मद्दत पुग्ने र स्वस्थता नै गुणस्तर शिक्षाको आयाम रहेको कुरा आम जनमानसमा विश्वास जगाउने उद्देश्य रहेको विद्यालयका प्रार्चाय आर्यालको भनाइ छ ।
गैँडाकोट–८ र ४ मा रहेका महिला सञ्चालका ९० जना अगुवा सदस्यहरु सहभागी रहेको उक्त कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तेजप्रसाद घिमिरेलगायत टोल सञ्जालका पदाधिकारीको उपस्थिति रहेको थियो ।
गँड्यौला मलको बारेमा वडावासीलाई जानकारी गराउँदा उनीहरुको भान्सामा विषादीरहित खाद्यान्न पुग्न सहयोग गर्ने भएकाले यसबारे अभिमुखीकरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाभित्रका फोहोर व्यवस्थापन गर्नका लागि उपायहरु खोजीरहेको अवस्थामा गैँडाकोट इङ्ग्लिस स्कुलको यो अभियान प्रशंसनीय रहेको बताउँदै वडा नम्बर ८ का महिला सञ्जाल प्रतिनिधिहरु मीना सुवेदी एवं शोभा घिमिरेले कार्यक्रममा विचार राख्दै हरेक घरमा यो परियोजना प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
वातावरण स्वच्छ राख्न, आफ्नो बारीमा प्रयोग गर्ने मल आफैँले उत्पादन गर्न र पैसाको बचत गर्न तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने भएकाले वडा तथा टोलवासीलाई गँड्यौला मलबारे प्रशिक्षण दिइएको सुवेदीले बताइन् । यसमा आफूहरूको विश्वास रहेको बताउँदै यसलाई कार्यान्वयन गर्ने सहभागीहरुले प्रतिवद्धता गरे ।
यो सामाजिक उत्तरदायित्व कार्यक्रम गैंडाकोट नगरपालिकाका अधिकाश वडा र टोल हुँदै छिमेकी भरतपुर महानगर लपालिकामा लैजाने योजना रहेको विद्यालयका प्राचार्य अर्यालले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जलवायु परिवर्तन रोकथाम गर्ने उदेश्यले विद्यालयमा स्थापित 4C club का विद्यार्थीहरुको सक्रिय सहभागितासहित अमेरीकाको सहयोगमा स्थापित भर्मीकम्पोस्ट प्रविधि यूनिटको अवलोकनसहित सहजीकरण गरिएको थियो ।