भरतपुर, ३१ भदौ ।
तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले गुरूङ भाषाको संरक्षण गर्ने उद्देश्यसहित शनिबारदेखि दुई हप्ते तमू भाषाको कक्षा सञ्चालन गरेको छ । भरतपुर–२ स्थित महाबौद्ध गुम्बा तीनखोलेमा भइरहेको कक्षामा ३५ जना प्रशिक्षार्थी सहभागी छन् । तमू समुदायमा भाषाको ज्ञान कम हुँदै गएपछि भाषा जोगाउनकै लागि पनि वार्षिक कार्ययोजना बनाएर कक्षा सञ्चालन गरिएको तमू ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् ।
ह्युल छोंज धीं चितवनले भाषाबाट टाढा रहेका व्यक्तिलाई केन्द्रित गरेर गतवर्षबाट भाषा कक्षा सञ्चालन गर्न थालेको हो । करिब एक दशकअघि पनि भाषा कक्षा सञ्चालन भएको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । अन्ततः तमू ह्युल छोंज धीं चितवनले हरेक वर्ष कार्यक्रम गर्ने योजनासहित कक्षा सञ्चालन गरेको भाषा कक्षा सञ्चालन उपसमितिका संयोजक एवम् तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले जानकारी दिए ।
पुरानो पुस्ताले भाषा जोगाउन सकेमात्रै नयाँ पुस्तामा पुस्तान्तरण हुने भन्दै उनले भने, ‘भाषालाई पुस्तान्तरण गर्नकै लागि पनि तालिम दिन आवश्यक छ ।’ सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै आएकै व्यक्तिहरूमा समेत भाषाको दख्खल नदेखेपछि कम्तिमा वर्षको एक पटक कक्षा सञ्चालन गर्नेगरी कार्यक्रम ल्याएको उनले बताए ।
तालिमको लागि ‘तमू क्युई’ प्रकाशन
तमू ह्युल छोंज धीं चितवनले भाषा कक्षा सञ्चालनकै लागि तयार पारेको तमू भाषासम्बन्धी सामान्य ज्ञानसहितको पुस्तक ‘तमू क्युई’को प्रकाशन गरेको छ । चितवनका पत्रकार तुलमान गुरूङद्वारा सङ्कलित पुस्तकककै आधारमा भाषा कक्षा सञ्चालन भइरहेको भाषा कक्षा सञ्चालन उपसमितिका सहसंयोजक एवम् तमू ह्युल छोंज धीं चितवनका सचिव किशोर गुरूङले जानकारी दिए ।
पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पाठ्यक्रमको रूपमा पुस्तक प्रकाशन गरेको उनले बताए । ‘पुस्तक भएपछि संस्थालाई पनि जिल्लाभरका तमू समुदायमा भाषासम्बन्धी कार्यक्रम लिएर पुग्न सजिलो हुन्छ,’ उनले भने, ‘यसले आगामी दिनमा भाषा कक्षालाई निरन्तरता दिलाउने बाटो खुला भएको छ ।’
पुस्तकका लेखक एवम् सङ्कलक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा ठाउँअनुसार फरक शैलीमा भाषाको प्रयोग हुने गरेको बताए । उनले हाल प्रकाशित पुस्तक ‘तमू क्युई’ गोरखामा बोलिने भाषा प्रभावित भएको बताए । आधारभूत सिकाइका लागि प्रकाशन गरिएको हुँदा पुस्तकमा सामान्य बोलीचालीमा प्रयोग हुने शब्दलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।