भरतपुर, ३१ भदौ ।
चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमीलगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड नेपालको प्राविधिक सहयोगमा भदौ ३० र ३१ गते सौराहामा कार्यक्रम भएको हो ।
उद्योगी व्यवसायीहरुलाई कर तथा करका नीतिका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायीहरुको संस्था भएकाले नेतृत्वले पनि करका बारेमा आफ्ना व्यवसायीहरूलाई सिकाउन सक्ने हुनुपर्ने बताए । उनले करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने, कर चुक्ता लिने, आय विवरण बुझाउने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरु निराकरणका लागि जिल्ला नगरका नेतृत्वलाई सिकाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले कार्यक्रम सफलताको शुभकामना दिदै जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्वकर्ताहरुलाई यस कार्यक्रममा सिकेको ज्ञान आफ्ना जिल्ला नगरका उद्योगी व्यवसायीहरूलाई सिकाउन अनुरोध गरे । उनले निजी क्षेत्रका व्यवसायीहरूलाई समयमा नै कर तिर्न अनुरोध गर्दै सम्बन्धित कर कार्यालयले पनि व्यवसायीलाई जरिवानाबारे समयमै जानकारी गराउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले देशमा चोरीपैठारीको जालो भएको बताउँदै कर प्रणालीलाई तहगत गराउनु पर्ने बताए । उनले व्यवसायीहरूले विमा गराउँदा हुलदङ्गा भन्ने शीर्षकमा पनि प्रिमियम बुझाउनु परेको भन्दै नेपालमा हाल हुलदङ्गा नभएकोले राज्यले विमा पोलिसीमा राखेको हुलदङ्गा सम्बन्धी बुँदा हटाएर व्यवसायीलाई विमाको प्रिमियम कम गराउनु पर्ने बताए ।
जिआईजेड रासका फिनान्सियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एड्भाइजर नवीनलाल श्रेष्ठले चितवनका व्यवसायीहरुलाई कर, मु.अ.कर, मिसम्याचलगायत बारेमा जानकारी गराउन यस तालिमको लागि उद्योग वाणिज्य संघ चितवनसँग सहकार्य गरेको बताए । उनले उवासंघ चितवनसँग आगामी दिनहरुमा पनि हातेमालो गर्दै यस किसिमका कार्यक्रम आयोजना गर्नमा सहकार्य गर्न सकिने बताए ।
कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले नेपालमा उत्पादन भएको कुनै पनि सामानमा अन्डरबिलिङ्को समस्या नभएको र आयातीत सामानमा नै यस्ता समस्याका कारण व्यवसायीहरूलाई अनुगमनको नाममा दुःख दिनुभन्दा भन्सारमा नै त्यो समस्याको समधान राज्यले ग¥यो भने साना व्यवसायीहरुलाई समस्या नहुने बताए । उनले उद्योग वाणिज्य संघ–चितवनले जिल्ला नगरका उद्योग वाणिज्य संघका नेतृत्व वर्गलाई बोलाएर कर सम्बन्धी कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आभार प्रकट गरे ।
उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले कर बिना राज्य समृद्ध हुन नसक्ने बताउँदै राज्यले करको दर घटाउँदै दायरा बढाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले करदाता र कर संकलनकर्ताको सम्बन्ध प्रगाढ भएमा कर संकलन गर्न सजिलो हुने बताए ।
आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गंगाराम अर्यालले यस्ता करदाता शिक्षा कार्यक्रमले करदाताको स्वेच्छिक कर तिर्ने मानसिकताको विकास हुने बताए ।
दुई दिनसम्म चलेको तालिम तथा अभिमुखीकरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी र सिए विशाल भट्टराईले कार्यक्रमको मध्यस्थता गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, तनहँु उद्योग वाणिज्य संघ, लमजुङ उद्योग वाणिज्य संघ, गोर्खा उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, धादिङ उद्योग वाणिज्य संघ, नवलपुर उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, बागलुङ उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, गैंडाकोट उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, महिला उद्यमी र कार्यालय प्रमुखहरू गरी ५५ जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापनसहित समापन गरेको कार्यक्रमको समापन सत्र संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए भने उद्घाटन सत्र कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।